
जनकपुरधाम, बैशाख ८ गते ।
मधेश प्रदेश अन्तर्गत सञ्चार क्षेत्रको नियमन, अनुगमन र विकासमा क्रियाशील दुई प्रमुख निकाय—मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरण—का नव नियुक्त अध्यक्षहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार, पत्रकार कमल उपाध्याय मिडिया काउन्सिलको अध्यक्षमा र पत्रकार जीतेन्द्र खड्ग आमसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका हुन्। सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेशका गृहमन्त्री राजकुमार लेखीले उनीहरूलाई शपथ ग्रहण गराए।
बाराका उपाध्याय र सप्तरीका खड्ग लामो समयदेखि पत्रकारिता र सञ्चार क्षेत्रमा सक्रिय रहेकाले उनीहरूको अनुभव, दक्षता र स्थानीय सन्दर्भप्रतिको बुझाइका आधारमा प्रदेश सरकारले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।
कार्यक्रममा मुख्यमन्त्री सतीश कुमार सिंहले दुवै अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै सञ्चार क्षेत्रको स्वायत्तता, मर्यादा र उत्तरदायित्व सुनिश्चित गर्न सक्रिय रहन निर्देशन दिए।
मुख्यमन्त्री सिंहले भने, “सञ्चार माध्यम राज्य र जनताको बीचको पुल हो। त्यसैले निष्पक्षता, नैतिकता र पारदर्शिताका आधारमा सञ्चार क्षेत्रको विकास र सुधार अत्यन्त आवश्यक छ।”
उनले पछिल्लो समय देखिएका सञ्चार माध्यमका विकृति, पूर्वाग्रह र अव्यवस्थाको अन्त्य गर्दै जिम्मेवार र सकारात्मक पत्रकारिताको प्रवद्र्धन गर्न आग्रह गरे। साथै, विगतका राम्रा अभ्यासलाई निरन्तरता दिँदै सुधारात्मक पहल गर्न र प्रदेशस्तरीय सञ्चार नीति निर्माणमा योगदान दिन अपेक्षा व्यक्त गरे।
गृहमन्त्री लेखीले सञ्चार क्षेत्रको संस्थागत विकास, मापदण्ड निर्माण, सञ्चार माध्यमहरूको दर्ता, निगरानी र व्यवसायिक आचारसंहिताको पालनामा मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे।
शपथपछि दुवै अध्यक्षले आफूहरूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै सञ्चार क्षेत्रको मर्यादा कायम राख्ने, पत्रकारको हक–हित सुनिश्चित गर्ने र प्रदेशस्तरीय सञ्चार संरचना सुदृढ बनाउने कार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।



