राकेश गुप्ता
सर्लाहीकाे चन्द्रनगर गाउँपालिकामा पहिलोपटक अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी ह्वीलचेयर वितरण गरिएको छ । भारत सरकारको सहयोगमा नेपाल–भारत महिला मैत्री समाजद्वारा आयोजित यो कार्यक्रममा वडाहरू १ देखि ७ सम्मका २० जना लाभग्राहीले ह्वीलचेयर प्राप्त गरेका छन् ।
वडा नं. २ को पर्ती बजारमा सम्पन्न कार्यक्रममा सहभागीहरूमाझ उत्साहको माहोल देखिन्थ्यो। वडा नं. ४ की मन्दी देवी माझीले आफ्ना श्रीमान्का लागि ह्वीलचेयर पाउँदा गहभरी आँसु पार्दै आयोजक संस्था र सांसद चन्दा चौधरीप्रति आभार व्यक्त गरिन्। त्यही वडाकी अर्की आमाले छोरीका लागि सहयोग प्राप्त भएपछि यस्तो राहत जीवनमै पहिलोपटक महसुस भएको बताइन्।
कार्यक्रममा सहभागिता जनाएका अपाङ्गता भएका प्रदीप धामीले उक्त सहयोगलाई ‘जीवन परिवर्तन गर्ने’ खालको उल्लेख गर्दै, नेपाल–भारत महिला मैत्री समाज र भारत सरकारलाई धन्यवाद दिए। वडा नं. ३ का सिकिन्द्र महतोले सामाजिक सञ्जालमार्फत कार्यक्रममा सहभागी भएका जानकारी दिँदै, अब सजिलै हिँडडुल गर्न सकिने बताए।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले “राजनीति र समाजसेवा एकअर्काका पूरक हुन्” भन्दै आफू समाजसेवामा सधैं अग्रसर रहने प्रतिवद्धता व्यक्त गरिन्। गाउँपालिका अध्यक्ष राजकुमार महतोले सांसद चौधरीलाई सक्रिय समाजसेवी र होनहार नेताको रूपमा चिनाउँदै, चन्द्रनगरका विकास योजनामा उनको सधैं योगदान रहेको बताए।
वडा नं. १ का वडाध्यक्ष कृष्णचन्द्र महतोले यसअघि चन्द्रनगरमा ह्वीलचेयर वितरण कहिल्यै नभएको बताउँदै, यो प्रयासले समुदायमा नयाँ आशा र आत्मबल थपेको धारणा राखे।
कार्यक्रममा सांसद चन्दा चौधरीसहित नेपाल–भारत महिला मैत्री समाज काठमाडौंकी उपाध्यक्ष राधा कुमारी कायस्थ, गाउँपालिका अध्यक्ष राजकुमार महतो, विभिन्न समाजसेवी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।





