
धनबिर महतो
गाैशाला, बैशाख १४ गते ।
महोत्तरीको बेलगाछीमा वर्षौंदेखि गाउँब्लकको जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई अन्ततः लालपूर्जा प्रदान गरिएको छ। नापी कार्यालय महोत्तरीले आइतबार वडा कार्यालयमा आयोजना गरेको विशेष समारोहका बीच २०३ परिवारलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गरिएको हो ।
राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय महासचिव फौदसिंह स्याडवाले २०७२ सालमा वेलगाछी गाविसबाट सुरु गरिएको भूमि अधिकार अभियान एक दशकपछि पूरा भएको बताएका छन् । “एक घर–एक कट्ठा” अभियानअन्तर्गत मञ्चले वेलगाछीका सुकुम्बासीहरुलाई हुकुम्बासी बनाउने पहल गरेको र यो सफलता सबैको सहकार्यबाट सम्भव भएको स्याडवाले बताए ।
नापी कार्यालय महोत्तरीका प्रमुख रामविनय सिंहका अनुसार, प्रक्रिया पुर्याएर प्रमाण–पूर्जा वितरण गरिएको हो। वर्दिवास नगरपालिका हुँदै गौशाला नगरपालिकाका अन्य गाउँब्लक क्षेत्रलाई समेत व्यवस्थित गर्न टोली बनाएर तथ्याङ्क संकलन गरी लालपूर्जा वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
नगरप्रमुख डा. दिपेन्द्र महतोले पनि यही असार मसान्तभित्र नगरभरिका सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने बताए । “नगरपालिकाका चार वडामा पहिल्यै डेटा संकलन भइसकेको छ, अब क्रमिक रूपमा अन्य वडामा पनि अभियान विस्तार गरिनेछ,” उनले भने ।
एक दशकअघि गरिएको प्रतिवद्धता आज पूरा भएकोमा वेलगाछीवासी खुशी व्यक्त गरेका छन् ।