
चमेली सिंह
गाैशाला, बैशाख १६ गते ।
महोत्तरीकाे मनरा शिस्वा नगरपालिका–७ झिङ्गाथानस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा नयाँ विद्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ । मंगलबार प्रदेशसभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले एक विशेष समारोहका बीच शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य कुशवाहाले शिक्षा क्षेत्रको विकास बिना समाजको समृद्धि सम्भव नहुने उल्लेख गर्दै स्थानीय तह र प्रदेश सरकारले संयुक्त प्रयासमा शैक्षिक पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिएको बताए । उहाँले भने, “ग्रामीण भेगमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न भौतिक पूर्वाधारको विकास अपरिहार्य छ । यस विद्यालयको नयाँ भवन निर्माणले स्थानीय विद्यार्थीलाई सुरक्षित र समुचित शैक्षिक वातावरण उपलब्ध गराउनेछ ।”
विद्यालयका प्रधानाध्यापक उदय किशोर झाले विद्यालयको हालको अवस्थाबारे जानकारी गराउँदै नयाँ भवन निर्माणले विद्यार्थीको सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
शिक्षा र पूर्वाधारको सुदृढीकरणमा जोड
कार्यक्रममा वक्ताहरूले विद्यालय भवनको निर्माणसँगै पठनपाठनको गुणस्तर सुधार, सिकाइ अनुकूल शैक्षिक वातावरण निर्माण र शिक्षकको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे । साथै, भवन निर्माणमा गुणस्तरको विशेष ख्याल राख्नुपर्नेमा सबैले जोड दिए । शिलान्याससँगै भवन निर्माण कार्य चाँडै सुरु गरिने र समयमै सम्पन्न गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।
शिलान्यास समारोहमा वडाध्यक्ष रामनाथ सहनी, वडा सदस्य कौशल्या देवी, नेकपा (एमाले) का वरिष्ठ नेता कौशल साह, नेकपा (माओवादी केन्द्र) का नेता लाल बाबु साह, जनता समाजवादी पार्टी (जसपा) नेपालका वडा संयोजक शिव नारायण सिंह, स्थानीय नेता नवल किशोर महतो, मुदिन कवारी, दिपेन्द्र ठाकुर लगायत विभिन्न दलका नेतागण, सामाजिक अगुवा र स्थानिय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।