
गौशाला, बैशाख १७ गते
महोत्तरीको गौशालामा बालबालिकाको शिक्षामा अवरोध नहोस् भन्ने उद्देश्यले कक्षा १ देखि ५ सम्मका लागि भर्ना अभियान सुरु गर्ने निर्णय गरिएको छ ।
काठमाडौं केन्द्रित आन्दोलनका कारण मुलुकभरका विद्यालयहरू प्रभावित भइरहेका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा २०८१ साल चैत २० गतेदेखि सुरु भएको आन्दोलनका कारण विद्यार्थीहरूको शैक्षिक यात्रा अवरुद्ध भइरहेको अवस्थामा गौशाला नगरपालिका–५ स्थित त्रिभुवन माध्यमिक विद्यालयले वैकल्पिक पहल थालेको हो ।
विद्यालयले आन्दोलनको बीचमा पनि विद्यार्थीको पठनपाठन नियमित राख्ने विशेष पहल गर्दै भर्ना र कक्षा सञ्चालन गर्ने निर्णय लिएको छ । विद्यार्थीहरूले पढ्न पाउने मौलिक हकमा बाधा नआओस् भन्ने उद्देश्यले विद्यालय व्यवस्थापन समितिले बुधबार बसेको बैठकबाट उक्त निर्णय गरेको हो। समितिका अध्यक्ष रमेश महतोले, आन्तरिक शान्ति, विद्यार्थीको हित र समुदायको चासोलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जानकारी दिए ।
उनका अनुसार, शिक्षक आन्दोलनका जायज मागप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले आन्तरिक स्रोत, साधन र जनशक्ति परिचालन गरी २०८२ साल बैशाख १८ गतेदेखि बिहान ६:३० बजेदेखि कक्षा १ देखि ५ सम्म भर्ना अभियान तथा कक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ । उक्त जानकारी अभिभावक र विद्यार्थीहरूलाई सूचनामार्फत दिइएको छ ।
विद्यालयले आन्दोलनको संवेदनशीलता समेत ध्यानमा राख्दै आवश्यक सावधानीका साथ शैक्षिक कार्यक्रम अघि बढाउने जनाएको छ । स्थानीय समुदायले विद्यालयको यस निर्णयको स्वागत गर्दै बालबालिकाको भविष्यप्रति देखाइएको प्रतिबद्धतालाई प्रशंसायोग्य बताएको छ ।