जनकपुरधाम, बैशाख २० गते ।
धनुषा जिल्लाको शहीदनगर नगरपालिका–८ नाथपट्टीस्थित पौराणिक रामजानकी मन्दिर ठाकुर कुट्टी परिसरमा रामजानकी धर्मशालाको आज विधिपूर्वक शिलान्यास गरिएको छ।
शिलान्यास समारोहमा सम्बोधन गर्दै प्रदेश सांसद रामअशिष यादवले मन्दिरको संरक्षण तथा संवर्द्धनका साथै श्रद्धालु तथा स्थानीयवासीलाई सुविधा प्रदान गर्ने उद्देश्यले धर्मशाला निर्माण आवश्यक रहेको बताए।
जनता समाजवादी पार्टी, नेपालका समाजवादी नेता तथा प्रदेश सांसद यादव, सांसद रत्नेश्वर लाल गोइत र वडाध्यक्ष तनुकलाल कुशयतले वैदिक परम्पराअनुसार संयुक्त रूपमा शिलान्यास गरेका हुन्।
धर्मशालाको निर्माण मधेस सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगमा सांसद यादवको पहलमा सुरु गरिएको हो। निर्माण कार्यको लागत अनुमानित २५ लाख रुपैयाँ रहेको जनाइएको छ।
शिलान्यास समारोह श्रीरामजानकी मन्दिर ठाकुर कुट्टी नाथपट्टीका अध्यक्ष धर्मेन्द्र यादवको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता पुष्पेन्द्र यादव, जसपा नाथपट्टीका अध्यक्ष परिक्षण पासमान, समाजसेवी शिक्षक रामबाबु यादव, शिक्षक अशोक कुमार बनरैत, शिबकुमार यादव, सुरेश यादव लगायत स्थानीय समाजसेवी र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

