
जनकपुरधाम, बैशाख २१ गते ।
जनता समाजवादी पार्टी, नेपालका समाजवादी नेता तथा मधेश प्रदेशका प्रदेश सभा सदस्य रामअशिष यादवले जनकपुरधाम उपमहानगरपालिका–१७, कनकपट्टी गाउँमा एक समारोहबीच मदरसाको शिलान्यास गरेका छन्। स्थानीय मुस्लिम समुदायका बालबालिकालाई मातृभाषा उर्दूमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त मदरसा निर्माण गर्न लागिएको हो।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य यादवले धार्मिक तथा सांस्कृतिक विविधता बोकेको मधेश समाजको समावेशी विकासका लागि शिक्षाको पहुँच सबै समुदायसम्म पुर्याउन जरुरी रहेको बताए। उनले प्रदेश सरकारको तर्फबाट यस्ता शैक्षिक संरचना निर्माणमा आवश्यक सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे।

शिलान्यास कार्यक्रममा अन्य वक्ताहरूले समेत धार्मिक सहिष्णुता, शिक्षा र सामाजिक समावेशीताको महत्वलाई जोड दिएका थिए। स्थानीय मुस्लिम समुदायका अगुवाहरूले यस्तो पहलप्रति आभार प्रकट गर्दै, बालबालिकाहरूको भविष्य उज्ज्वल बनाउन मदरसा शिक्षाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
मधेश प्रदेश सरकारअन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालयको आर्थिक सहयोगमा मदरसाको निर्माण कार्य छिट्टै सुरु हुने र निर्धारित समयसीमा भित्र सम्पन्न गर्ने योजना रहेको आयोजकले जानकारी दिएका छन् ।

शिलान्यास कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–१७ का वडाध्यक्ष रामवृक्ष यादव, निवर्तमान वडाध्यक्ष परमेश्वर यादव, सन्त कबिर राजेन्द्र साहेब, समाजसेवीहरू असर्फी साह, तिलेश्वर यादव, तेजनारायण यादव, विशेश्वर यादव, विन्देश्वर यादव, लक्ष्मण यादव, जसपा नेपालका वडाअध्यक्ष दुखी यादव, एकीकृत समाजवादी पार्टीका अध्यक्ष विशेश्वर यादव, मुस्लिम समुदायका मोकीम मोमिन, बेचन मोमिन, सकुर मोमिन, रमजान मोमिन, सलामत मोमिन लगायत स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।