
आरएन पटेल
रौतहट, बैशाख २२ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) को भातृ संगठन समाजवादी महिला संघको राष्ट्रिय महाधिवेशन तयारीका सन्दर्भमा रौतहटमा पार्टीको एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ ।
गौरस्थित जसपा जिल्ला कार्यालयको सभाहलमा सम्पन्न उक्त बैठकको अध्यक्षता जिल्ला अध्यक्ष राजीव रंजन यादवले गरेका थिए । बैठकमा यही बैशाख २७ र २८ गते जनकपुरधाम, धनुषामा हुने महाधिवेशनका तयारी विषयमा विभिन्न शीर्षकमा छलफल गरिएको थियो ।
बैठकले महाधिवेशनलाई सफल बनाउनका लागि आवश्यक सहकार्य र तयारीबारे निर्णय गर्दै पार्टीको केन्द्रीय परिपत्रअनुसार सम्पूर्ण जनवर्गीय तथा पेशागत संगठनहरूको जिल्ला अधिवेशन वैशाख महिनाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ। यसका लागि सम्बन्धित संगठनहरूले आ–आफ्नो समिति बैठक गरी अधिवेशनको मिति तय गरेर पार्टीलाई जानकारी गराउने निर्णय गरिएको हो ।
जिल्ला अध्यक्ष यादवका अनुसार बैठकले प्रत्येक पालिकाबाट संगठनात्मक प्रतिवेदन १५ दिनभित्र नगर अध्यक्ष तथा सचिवमार्फत पार्टी कार्यालयमा बुझाउने निर्णय पनि गरेको छ ।
बैठकमा महाधिवेशन प्रतिनिधि छनोट, संगठनात्मक संरचना सुदृढीकरण, महिला नेतृत्व विकास, र पार्टीको भावी रणनीतिका विषयमा गम्भीर छलफल भएको थियो। रौतहटमा विगतमा महिला नेतृत्वको सक्रियता र सामाजिक रूपान्तरणमा देखिएको प्रभावकारी भूमिकालाई समेट्दै महाधिवेशनले थप उत्साह र राजनीतिक दृष्टिकोण विकास गर्ने अपेक्षा गरिएको अध्यक्ष यादवले बताए।
बैठकले महाधिवेशन व्यवस्थापन, सहभागीहरूको तयारी, स्थानीय सञ्जाल सुदृढीकरण, र महिला सहभागिता विस्तार जस्ता विविध कार्ययोजना पनि तय गरेको उपाध्यक्ष पारस भण्डारीले जानकारी दिए। जसपा नेपाल रौतहटका नेताहरूले महाधिवेशनलाई संगठन सुदृढीकरणको अवसरका रूपमा प्रयोग गर्ने तयारी गरेका छन्।
बैठकमा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका पदाधिकारी, सदस्यहरू र नगर अध्यक्षहरूको उपस्थिति रहेको थियो ।