
पवन प्रसाद साह
बिरगंज, बैशाख २३ गते ।
विश्वमा दिनप्रतिदिन बढ्दो दमका बिरामीहरूलाई लक्षित गर्दै नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, बिरगंज पर्साले आज एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
मानव स्वास्थ्यमा दमले पार्ने असर र त्यसबाट बच्न सकिने उपायबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अस्पतालका प्रेस सल्लाहकार आसिक अन्सारीले जानकारी दिए ।

कार्यक्रममा दम तथा स्वासप्रश्वास सम्बन्धी रोगहरूबारे जनचेतना जगाउन विभिन्न पोस्टर र ब्यानर प्रदर्शनी गरिएको थियो। साथै, नेशनल मेडिकल कलेजका डा. सुधाकर झाद्वारा दमका बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै रक्त परीक्षणमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी उनले दिए।
स्वासप्रश्वास मापनका लागि ‘इनहेलर’ (सुँघ्ने औषधि) निःशुल्क वितरण गरिएको थियो भने दमका रोगीहरूलाई फलफूल वितरण गरिएको थियो। सहभागीहरूका लागि व्यक्तिगत स्वासप्रश्वास प्रक्रिया नाप्न सकिने गेमिङ कार्यक्रम पनि राखिएको थियो।

“रोगको उपचारभन्दा पनि रोग लाग्न नदिनु महत्त्वपूर्ण हो भन्ने सन्देश फैलाउनु नै कार्यक्रमको मुख्य उद्देश्य हो,” नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले बताए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा सखुवा प्रसौनी गाउँपालिका–५ देरबनाकी १०२ वर्षीया वृद्धा महलुदन खातुनको पनि निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
उक्त कार्यक्रम चेरिटेबल सोसाइटीका नर्सिङ समूहका विद्यार्थीहरूको सहकार्यमा र नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगंज पर्साको आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका मार्केटिङ तथा एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी, अस्पतालकी निर्देशक इसरत जहाँ अन्सारी, कलेज निर्देशक रवि श्रेष्ठ र यासमिनको समेत उपस्थिति रहेको थियो ।
