
गाैशाला, बैशाख २३ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित वडा कार्यालयमा आज प्रदेश सभा सदस्य माननीय भरत प्रसाद शाहको तर्फबाट आयोजना गरिएको योजना छनोट तथा जनप्रतिनिधि–जनता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
गौशाला–१२ का वडाध्यक्ष कुशेश्वर कुशवाहाको अध्यक्षता र पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य माननीय भरत प्रसाद शाहको प्रमुख अतिथिमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न दलका नेता, स्थानीय अगुवा, युवाहरू, महिला प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।
प्रमुख अतिथि माननीय शाहले प्रदेश सरकारको तर्फबाट स्थानीय जनताको चाहना र सुझावअनुसार योजना निर्माण र बजेट व्यवस्थापनमा आफू प्रतिवद्ध रहेको उल्लेख गरे । उहाँले युवा तथा महिला सशक्तिकरण, कृषि उपकरण तथा मल–बिउको सहज आपूर्ति, सिँचाइ व्यवस्था सुधार तथा शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन आवश्यक बजेट विनियोजन गर्न पहल गरिने बताए ।
प्रमुख अतिथि माननीय भरत प्रसाद शाहका अनुसार, पछिल्लो समय कतिपय ठाउँमा एउटै विकास निर्माणका काममा प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको र सोही कामका लागि स्थानीय तहले पनि अलग्गै बजेट छुट्याएको पाइएकाले दोहोरो बजेट विनियोजनको समस्या देखिएको छ।
उहाँले यस्तो दोहोरो बजेटको अवस्था नदोहरियोस् भनेर योजना छनोटको क्रममा सरोकारवाला सबै पक्षबीच समन्वय कायम गर्न आवश्यक भएको बताए । त्यसै उद्देश्यले यस्तो योजना छनोट तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको हो भन्ने जानकारी उनले दिए।
उनले थपे, “प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय नहुँदा एउटै योजना दोहोरिनुका साथै अन्य आवश्यक योजना ओझेलमा पर्ने अवस्था आउँछ। त्यसैले समन्वय, पारदर्शिता र प्राथमिकताका आधारमा योजना छनोट आवश्यक रहेको बताए ।”
विकास योजनाहरूको तहअनुसार जिम्मेवारी स्पष्ट हुन आवश्यक रहेको बताए । उहाँका अनुसार, “सानो–सानो योजनाहरू स्थानीय सरकारले नै गर्ने, मझौला किसिमका योजनाहरू प्रदेश सरकारमार्फत गरिने र ठूला योजनाहरू संघीय सरकारमार्फत गर्न पहल गरिनेछ ।”
उहाँले तीनै तहबीच स्पष्ट भूमिका बाँडफाँड र समन्वयको खाँचो रहेको उल्लेख गर्दै स्रोतको सदुपयोग र प्रभावकारी विकासका लागि यस्तो संरचना आवश्यक भएको बताए ।
वडाध्यक्ष कुशेश्वर कुशवाहाले आफ्नो सम्बोधनमा जनप्रतिनिधिहरू र स्थानीयवासीबीच प्रत्यक्ष संवादका लागि आयोजना गरिएको यस्तो कार्यक्रमले योजना छनोट प्रक्रियालाई अझ सहज, समावेशी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
उहाँले भने जनप्रतिनिधि र जनताबीचको यस्तो खुला संवादले योजना छनोटमा पारदर्शिता बढाउँछ र सबैको अपेक्षा अनुसार विकास निर्माण कार्य अघि बढाउन सहयोग पुर्याउँछ ।”
वडाध्यक्ष कुशवाहाले आगामी योजनाहरूको कार्यान्वयनमा गुणस्तर, समयसीमा र पारदर्शितामा कुनै सम्झौता नहुने प्रतिबद्धता जनाउँदै विकास कार्यमा वडा कार्यालय सधैं अग्रसर रहने बताए ।
कार्यक्रमको अन्त्यमा सबै सहभागीलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै साझा प्रयासमार्फत विकास निर्माणलाई अगाडि बढाउने सन्देश वडाध्यक्षले दिएका थिए ।
कार्यक्रममा जनप्रतिनिधि तथा सहभागीहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, रोजगार तथा खानेपानीका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताएका थिए । उनीहरूले योजनाको छनोट पारदर्शी ढंगले गरी दीर्घकालीन असर पार्ने परियोजनाहरूलाई प्राथमिकता दिनुपर्ने माग समेत राखे ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय प्रतिनिधि सूर्य नारायण साह, पूर्व प्रदेश समिति सदस्य विजय साह, नेपाली कांग्रेस वडा संयोजक दिलीप कुमार महतो, माओवादी केन्द्र वडा संयोजक रामचन्द्र सिंह, जसपा नेपाल वडा संयोजक लक्ष्मी महतो, लोसपा वडा संयोजक देवनारायण महतो, युवा नेता नागेन्द्र सत्या, दिपलाल महतो, श्री किशोर साह तथा राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारका प्रतिनिधि महाबीर सिंह लगायतले आ–आफ्नो धारणा राख्दै स्थानीय आवश्यकता अनुसार योजना छनोट र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।