
जय यादव
बिरगंज, बैशाख २४ गते ।
पर्सा प्रहरीले पोखरीया नगरपालिकाका निवर्तमान अधिकृत अजय कुमार श्रीवास्तव र विन्दवासिनी गाउँपालिका, ईटियाही टोल निवासी अजित कुमार चौरसियालाई बुधबार पक्राउ गरेको छ।
उनीहरूलाई पत्रकार रंजित चौरसियाका पिता सुबाश प्रसाद चौरसियाले दायर गरेको जाहेरीको आधारमा पक्राउ गरिएको हो। जाहेरीमा सरकारलाई प्रतिवादी बनाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।
पत्रकार रंजित चौरसियाले पोखरीया नगरपालिकामा भएको भ्रष्टाचारसम्बन्धी समाचार प्रकाशित गरेका थिए। सोही समाचारका कारण अजय श्रीवास्तवले पत्रकार चौरसिया र उनी कार्यरत अनलाइन मिडियाविरुद्ध जिल्ला अदालत, पर्सामा गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।
यस्तै, सो समाचारको आधारमा अजय श्रीवास्तव र नेशेन्ट एजुकेशनका अजित चौरसिया लगायतले पत्रकार चौरसियामाथि विद्युतीय अपराधसम्बन्धी मुद्दा पनि दर्ता गराएका थिए। पत्रकार चौरसियाले नेशेन्ट एजुकेशनमा देखिएको विकृति र अनियमितताबारे पनि समाचार प्रकाशित गरेका थिए।
उक्त घटनाक्रमपछि पत्रकारविरुद्ध विभिन्न मुद्दा दर्ता गराउने व्यक्तिहरू एकजुट भएर विद्युतीय अपराधसम्बन्धी मुद्दा दर्ता गराएका थिए। जबकि, एउटै विषयमा पहिले नै अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता भइसकेको अवस्थामा सोही विषयलाई लिएर फेरि विद्युतीय अपराध मुद्दा दर्ता हुनु कानूनी रुपमा उचित थिएन। तर, ती मुद्दाहरू तत्कालीन प्रहरी प्रमुखलाई प्रभावमा पारेर दर्ता गराइएको आरोप लगाइएको छ।
यही पृष्ठभूमिमा, पत्रकार रंजित चौरसियाका पिता सुबाश प्रसाद चौरसियामाथि रानिघाट पुलको दक्षिणतर्फ जाने बाटोमा योजनाबद्ध रूपमा घेराबन्दी गरी छुरा प्रहार गरिएको थियो। स्थानीयको सहयोगमा उनलाई नारायणी अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो।
सुबाश चौरसियाले जिल्ला प्रहरी कार्यालय, पर्सामा ज्यान मार्ने उद्योगको जाहेरी दर्ता गराउन खोज्दा तत्कालीन प्रहरी प्रमुखले विपक्षी पक्षको प्रभावमा परेर मुद्दा दर्ता गर्न अस्वीकार गरेको आरोप लगाएका छन्। पछि उनले अदालतमा परमादेशको माग गर्दै मुद्दा दायर गरे, जसको आदेशपछि प्रहरीमा मुद्दा दर्ता भएको थियो।
हाल पक्राउ परेका अजय श्रीवास्तव र अजित चौरसियालाई जिल्ला अदालत, पर्साबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।