
रूपन्देही, बैशाख २५ गते ।
भारत र पाकिस्तानबीच पछिल्ला दिनमा बढ्दै गएको कूटनीतिक र सुरक्षा तनावलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्र बेलहियामा सुरक्षा सतर्कता बढाइएको छ ।
बुधबार सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (BOP) बेलहियाले डग स्निफिङ टोलीको सहायता सहित सीमा नाकामा सुरक्षा जाँच कडा बनाएको छ। सीमा हुँदै हुने आवतजावतमा निगरानी बढाउँदै शंकास्पद सामान र व्यक्ति पहिचान गर्न सुरक्षाकर्मीले विशेष चेकजाँच थालेका छन् ।
सशस्त्र प्रहरी बलका एक अधिकारीका अनुसार, सीमा क्षेत्रमा कुनै पनि अवाञ्छित गतिविधि रोक्न र नेपाल भित्रिन सक्ने सम्भावित सुरक्षा चुनौती न्यूनीकरण गर्न सतर्कता अपनाइएको हो ।

“भारत–पाकिस्तानबीचको तनावले प्रत्यक्ष असर नपरे पनि सीमा नजिकको क्षेत्र भएकाले सतर्कता आवश्यक छ,” उनले भने ।
स्थानीय प्रशासनसँगको समन्वयमा सशस्त्र प्रहरीले बेलहिया नाकामा थप जनशक्ति परिचालन गरेको छ भने अन्तर्राष्ट्रिय नाकाबाट नेपाल प्रवेश गर्ने सवारी र व्यक्तिहरूमाथि समेत गहन जाँच थालिएको छ ।
नेपाल र भारतबीच खुला सिमाना रहेकाले छिमेकी मुलुकमा उत्पन्न परिस्थितिको प्रभाव नेपालमा पर्न सक्ने भएकाले सुरक्षा सतर्कता अनिवार्य भएको सुरक्षाकर्मीहरू बताउँछन् ।