
राजिव शाह
सर्लाही, बैशाख २५ गते ।
विश्व रेडक्रस दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाले पहिलोपटक आयोजना गरेको खुला रक्तदान कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको छ।
चन्द्रनगर गाउँपालिकाको आयोजना तथा नेपाल शिक्षक महासंघ र रेडक्रसको सहकार्यमा सम्पन्न कार्यक्रममा ६० जनाले स्वेच्छिक रक्तदान गरे।
गाउँपालिका अध्यक्ष राजकुमार महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको कार्यक्रममा उहाँले रक्तदान कार्यक्रमलाई ‘ऐतिहासिक पहल’ को संज्ञा दिँदै आगामी दिनमा यस्ता सामाजिक र मानवीय अभियानमा गाउँपालिकाको निरन्तर साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गरिरहेका रेडक्रस चन्द्रनगर उपशाखाका अध्यक्ष सरोज कुमार सिंहले कार्यक्रम सफल बनाउन योगदान गर्ने सबै संघसंस्था, सञ्चारकर्मी र स्वयंसेवकप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा रक्तदाताहरूलाई सम्मानपत्र प्रदान गरी विशेष सम्मान गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख अमृत चौधरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस जिल्ला उपसभापति शेख अब्दुला, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका सदस्य तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सोही अवसरमा गाउँपालिकाले उपशाखाका लागि निर्माण गरिदिएको नयाँ भवनको उद्घाटन पनि अध्यक्ष महतोले गर्नुभयो ।
समाज सेवामा चन्द्रनगर उपशाखाको यो पहलले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया रहेकाे थियोे ।