
गाैशाला, बैशाख २६ गते ।
महोत्तरीको मनरा शिस्वा नगरपालिका वडा नं. ६ र ७ का करिब ४ सय घरधुरीलाई आज जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ।
वडा नं. ७ स्थित महादेव मन्दिर धर्मशाला, झिंगास्थानमा आयोजित विशेष समारोहमा ३ सय घरधुरी र वडा नं. ६ मा १ सय घरधुरीलाई लालपुर्जा वितरण गरिएको हो। लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका बासिन्दाहरूलाई कानुनी रूपमा जग्गा स्वामित्व दिन यो कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले राज्यले अब दलित, गरिब, भूमिहीन र सीमान्तकृत समुदायप्रति न्यायपूर्ण व्यवहार गर्न थालेको बताए। “लालपुर्जा केवल कागज होइन, यो तपाईहरूको अधिकार हो, सम्पत्तिमा स्वामित्व हो र भविष्यमा आत्मसम्मानको आधार हो,” उनले भने।
वडा नं. ७ का अध्यक्ष रामनाथ सहनीले जनताको लामो प्रतीक्षा सकिएको उल्लेख गर्दै बाँकी रहेका घरधुरीलाई पनि छिट्टै लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाए ।

स्थानीय समुदायले यो कार्यलाई ऐतिहासिक कदमका रूपमा स्वागत गरेका छन्। लालपुर्जा प्राप्त गरेसँगै बासिन्दाहरू बैंकिङ सेवा, शैक्षिक छात्रवृत्ति, घर निर्माण, र कानुनी सुरक्षालगायत सुविधाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा जिल्ला नापी कार्यालय प्रमुख राम विनय सिंह, टोली अधिकृत सर्फुदिन अंसारी, नेपाली कांग्रेसका जिल्ला उपसभापति किशोर सिंह प्रितम, नेकपा एमालेका पूर्व जिल्ला समन्वय समिति सदस्य कौशल किशोर साह, जसपाका नेताहरू दिपेन्द्र ठाकुर, मकेश्वर प्रसाद सिंह, शिव नारायण सिंह लगायत स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति थियो ।

त्यसैगरी कार्यपालिका सदस्य सञ्जय लाल कर्ण र जिबो बैठा, वडा सदस्य कौशिल्या देवी, नागरिक अगुवा सुनिल कुमार महतो, नवल किशोर महतो, जामुन महतो, महेन्द्र महतो, किशोरी कान्त साह, उपेन्द्र साह, विनोद सहनी, जितेन्द्र महतो, रामचन्द्र सहनी, राम कृपाल महतो लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको पनि उल्लेखनीय सहभागिता रह्यो ।











