दिपेश कु शाह
रौतहट, बैशाख २८ गते ।
स्वर्गीय रामा यादवको चौथो स्मृति दिवसको अवसरमा “रामा यादव स्मृति पत्रकारिता पुरस्कार” अन्तर्गत स्वास्थ्य पत्रकारितामा उल्लेखनीय योगदान पुर्याउने दुई जना महिला पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरिएको छ।
रौतहट सदरमुकाम गौरस्थित रेड टेलिभिजनको सभाहलमा आइतबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष संजय कार्कीले २०८१ र २०८२ सालका लागि चयन गरिएका पत्रकारहरूको नाम सार्वजनिक गरे।
२०८१ सालका लागि बाराको सिमराबाट पत्रकारिता गर्दै आएकी रेडियो समर्पणकी प्रमुख तथा रातोपाटी अनलाइनकी संवाददाता शारदा पोखरेल चयन भएकी छन्। उनलाई नगद २६,००१ रुपैयाँसहित सम्मान गरिनेछ। त्यस्तै, २०८२ सालका लागि महोत्तरीको खुट्टपिपराठी–४ की चाँदनी झा, जो हाल टिभी टुडेमा कार्यरत छन्, पुरस्कृत हुने प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवले जानकारी दिए।
नेपाल पत्रकार महासंघका अध्यक्ष कार्कीले प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्दै रौतहटको पत्रकारिता क्षेत्रमा गुणस्तरीय सुधारको खाँचो रहेको बताए। समाचार लेखन, प्रस्तुति र सम्प्रेषणका पक्षमा ध्यान दिनुपर्ने आवश्यकतामाथि जोड दिँदै उनले सकारात्मक सुधारका संकेत देखिन थालेको उल्लेख गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शिव पुरीले सामाजिक सञ्जालमा समाचार लेख्दा मर्यादा, सभ्यता र व्यापक स्वीकार्यताको ख्याल राख्नुपर्ने धारणा राखे। उनले असंयमित भाषाको प्रयोगले पत्रकारिता क्षेत्रको छवि प्रभावित बनाएको प्रति चिन्ता व्यक्त गरे।
पूर्व अध्यक्ष शैलेन्द्रकुमार गुप्ता, प्रेमचन्द्र झा, प्रभाकुमार झा, महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्लीबहादुर कार्की, श्रमजीवी पत्रकार महासंघका अध्यक्ष सन्तोष पौडेललगायत वक्ताहरूले स्व. रामा यादवले देखाएको बाटोमा अघि बढ्दै स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा सकारात्मक योगदान दिनुपर्नेमा जोड दिए।
कार्यक्रमको सभापतित्व रेड टेलिभिजनका संस्थापक तथा प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवले गरेका थिए भने सञ्चालन पत्रकार राकेश यादवले गरेका थिए। कार्यक्रममा उल्लेख्य संख्यामा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। पुरस्कार आगामी वार्षिकोत्सवको अवसरमा प्रदान गरिने जनाइएको छ ।





