गाैशाला, बैशाख २९ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ मा गौशाला प्राविधिक शिक्षालय आयुर्वेद क्याम्पसको पर्खाल निर्माण कार्यको शिलान्यास गरिएको छ । संघीय सांसद मा. लक्ष्मी महतो कोइरी र मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री मा. सरोज कुमार यादवको संयुक्त करकमलबाट सोमबार एक समारोहबिच पर्खाल निर्माणको शिलान्यास सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै सांसद कोइरीले प्रदेश र संघीय सरकारबीचको सहकार्यबाट शिक्षा तथा पूर्वाधारको विकासमा तीब्रता आउने विश्वास व्यक्त गरे । मन्त्री यादवले प्रदेश सरकारले जनताको चाहना र आवश्यकता अनुसार बजेट र योजना निर्माण गरिरहेको बताए ।

गौशाला प्राविधिक शिक्षालयको आयुर्वेद क्याम्पसले भविष्यमा स्थानिय तहमा स्वास्थ्य शिक्षा तथा सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । पर्खाल निर्माणपछि क्याम्पसको भौतिक संरचना थप व्यवस्थित र सुरक्षित बन्नेछ ।

गौशालाको वडा नम्बर १२ स्थित क्याम्पस परिसरमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षालयका शिक्षक-शिक्षिकाहरु, नागरिक समाजका अगुवा तथा स्थानीय युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शिलान्यास कार्यक्रममा वडा नम्बर १२ काे वडाध्यक्ष कुशेश्वर सिंह कुशवाहा, वडा नं.११ काे अध्यक्ष रामपृत महतो, वडा नं. ९ काे अध्यक्ष बद्री सिंह दनुवार लगायत वडा सदस्यहरु, विभिन्न पार्टीका नगर संयोजक तथा वडा संयोजकहरुको पनि उपस्थिति रहेको थियो ।





