रवीन्द्र उप्रेती
बर्दीबास, बैशाख २९ गते ।
जनतालाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले महोत्तरीको उत्तरी भेगमा स्थापना गरिएको गौशाला मालपोत कार्यालय खुद सेवामै असहज बन्न पुगेको छ। दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्यालयको सेवा प्रभावित भएको हो।
२०८१ भदौ २८ गतेदेखि सञ्चालनमा आएको यो मालपोत कार्यालयमा अहिले पनि दरबन्दीको झण्डै आधा मात्रै कर्मचारी कार्यरत छन्। कार्यालय प्रमुख दीपेन्द्र झाका अनुसार, २९ जनाको दरबन्दीमा हाल १९ जना मात्रै कार्यरत छन् भने उपसचिवसहित १० पद अझै रिक्त छन्।
“शाखा अधिकृत एक जना मात्रै छन्, उपसचिव त अहिलेसम्म आएका पनि छैनन्,” प्रमुख झा भन्छन्, “यो अवस्थामा सेवा प्रवाह सहज हुने त कुरै भएन।”
गौशाला मालपोतले उत्तरी भेगका चार स्थानीय तह तथा २० साविक गाविसका जग्गा कारोबारसम्बन्धी सेवा दिँदै आएको छ। दैनिक औसत ३०० सेवाग्राहीको चाप सामना गर्नुपर्ने कार्यालयले दिनहुँ २०–२५ वटा जग्गा पास, ३०–३५ वटा रोक्का तथा फुकुवा लगायतका काम गर्दै आएको छ।
लेखापढी व्यवसायी सङ्घका अनुसार, कार्यालयले सञ्चालनमा आएदेखि ३३ वटा भूसेवा केन्द्र दर्ता भएका छन्, जसबाट १०० भन्दा बढी व्यक्तिले रोजगारी पाएका छन्।
सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउन भन्दै कार्यालय विस्तारमा प्राथमिकता दिएको दाबी गरिए पनि कर्मचारी अभावकै कारण जनतामाझ असन्तुष्टि बढ्दो छ।
प्रमुख झा भन्छन्, “कति पटक सम्बन्धित निकायमा रिक्त पद पूर्तिको माग गर्दै पत्राचार गरियो, तर सुनुवाइ नै भएको छैन।”
प्रशासनिक कमजोरी र दीर्घकालीन बेवास्ताले गर्दा चाप बढी हुने कार्यालयहरू झन् संकटमा पर्न थालेका छन् । गाेरखापत्र





