दिपेश कुमार शाह
रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको मात्र ६ महिना नपुग्दै एक महिलाको शंकास्पद मृत्यु भएको छ। मृतककी आमाले छोरीको हत्या दाइजो नपाएको कारण गरिएको दाबी गर्दै कडा कानुनी कारबाहीको माग गरेकी छन्।
कटहरिया–३ बड़ेरवा टोल घर भइ हाल कटहरिया–५ मा बसोबास गर्दै आएका अरमान राय भाटकी श्रीमती २१ वर्षीया सानिया प्रविन आइतबार दिउँसो आफ्नै घरको कोठामा सिलिङ फ्यानमा साडीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। घटनापछि इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोली घटनास्थल पुगेको थियो। प्रहरीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो।
पोस्टमार्टमपश्चात शव मृतककी आमा कायमा खातुनले बुझेकी छन्। उनका अनुसार करिब ६ महिना अघि मुस्लिम परम्पराअनुसार सानियाको विवाह अरमानसँग भएको थियो। विवाहपश्चात दाइजोको नाममा ज्वाइँ अरमानले निरन्तर शारीरिक तथा मानसिक यातना दिँदै आएको सानियाकी आमाको भनाइ छ।
उनले योजना अनुसार हत्या गरी आत्महत्याको रुप दिन खोजिएको आरोप लगाउँदै संलग्न सबैलाई पक्राउ गरी कडा कारबाहीको माग गरेकी छन्। सानियाको माइती पक्षले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी पनि दिएको जनाएको छ।
तर, इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार हालसम्म जाहेरी दर्ता भइनसकेको र घटनालाई शंकास्पद मानिएको बताएका छन्। उनले अनुसन्धानपछि मात्र यकिनका साथ केही भन्न सकिने र कानुनी प्रक्रिया अगाडि बढाइने स्पष्ट पारेका छन्।
मृत्युको वास्तविक कारणबारे यकिन हुन बाँकी रहेको र प्रहरी अनुसन्धान जारी रहेको छ। घटनाले दाइजोप्रथासँग सम्बन्धित हिंसा र सामाजिक दबाबबारे फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ ।

