पवन प्रसाद साह
बिरगंज, जेष्ठ ३ गते ।
पर्साकाे बिरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर पर्सा जिल्लाको घडीर्वा पोखरीमा सम्पन्न भएको छ। स्थानीय सर्वसाधारणलाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरमा २०८ जना बिरामीहरूले विभिन्न स्वास्थ्य परीक्षण गराएका छन्।
शिविरको अध्यक्षता कलेजकी निर्देशक डा. इसरत जहाँ अन्सारीले गरेकी थिइन्। बिहानको समयमा मर्निङ वाकमा निस्कने नगर क्षेत्रका बासिन्दालाई लक्षित गर्दै गरिएको यस कार्यक्रममा विविध स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।
स्वास्थ्य शिविरमा अस्पतालका विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरू तथा इन्टर्न स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। कन्सल्टेन्ट डा. इमरान अली, डा. उदित यादव, डा. मो. राशिद कलाम (पिजी), र डा. विवेक भारतीले बिरामीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिएका थिए। नर्सिङ सेवाका लागि बबिता श्रेष्ठ, प्रजिता फूयाल, समिक्षा रिताल र सांतिका कू. सिंहको टोली खटिएको थियो।
कार्यक्रममा मेट्रोन विकास गुप्ता तथा प्रेस प्रतिनिधि आसिक अन्सारीको समेत उपस्थिति रहेको थियो।
चिकित्सकहरूका अनुसार, शिविरमा आएका अधिकांश बिरामीहरूमा उच्च रक्तचाप, मधुमेह, पेट सम्बन्धी समस्या, श्वासप्रश्वासका कठिनाइ तथा सामान्य संक्रमण देखिएको थियो।
शिविरमा सहभागी बिरामीहरूले सहज र गुणस्तरीय सेवा पाएको भन्दै कृतज्ञता व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्ता कार्यक्रमहरूले गाउँघरमा स्वास्थ्य चेतना फैलाउन तथा उपचारको पहुँच वृद्धि गर्न सघाउ पुर्याउँछन्।
स्वास्थ्य सेवा जनताको घरदैलोमै पु-याउने उद्देश्यले गरिएको यस कार्यक्रमलाई आगामी दिनमा अन्य ठाउँमा पनि विस्तार गरिने नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रतिनिधिहरूले जानकारी दिएका छन्।
शिविरमा सहभागीहरूका अनुसार यस्ता कार्यक्रमहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै गम्भीर रोगहरू प्रारम्भिक चरणमै पहिचान गर्न मद्दत पुग्ने भएकाले यसको निरन्तरता आवश्यक छ।




