गाैशाला, जेष्ठ १२ गते ।
मिथिलाञ्चलका नवविवाहित महिलाहरु आज हरषोल्लासका साथ वट सावित्री पर्व मनाउँदै छन्। जेष्ठ महिनाको आमावस्या तिथिमा मनाइने यस पर्वमा विवाहित महिलाहरु पतिको दीर्घायु, सुखद दाम्पत्य जीवन तथा पारिवारिक समृद्धिको कामनासहित व्रत बस्ने परम्परा रहेको छ।
आजको दिन जनकपुर सहित सम्पूर्ण मिथिला क्षेत्रमा महिलाहरु नयाँ पहिरनमा सजिएर वर र पिपलको रुखमुनि सामूहिक रूपमा पूजा गर्छन्। पान, सुपारी, केरा, फलफूल, धुप, अबिर, धागो लगायत पूजाका सामग्रीसहित रुखलाई रातो र पहेँलो धागोले बेरेर विधिपूर्वक पूजाआजा गरिन्छ।
स्थानीय भाषामा ‘वसराइत पावइन’ भनिने यो पर्व सती सावित्री र सत्यवानको धार्मिक आख्यानसँग जोडिएको छ। पौराणिक विश्वासअनुसार सावित्रीले यमराजसँग व्रत तथा तपस्याद्वारा आफ्ना मृत पति सत्यवानको प्राण फिर्ता ल्याइन्, यही प्रेरणाले विवाहिता महिलाहरु यो पर्व श्रद्धा र आस्थाका साथ मनाउने परम्परा कायम छ।
कान्तिबजारका पुरोहित दिनेश झाका अनुसार, नवविवाहित महिलाले खासगरी यो पर्व माइतीघरमै मनाउने चलन छ। व्रतको अघिल्लो दिन दुलाहाको घरबाट आएको सामग्रीबाट ‘गौरी नैवेद्य’ तयार गरी शिवपार्वतीलाई अर्पण गर्ने तथा औँसीको दिन बिहानदेखि निराहार रही पूजापाठ गर्ने परम्परा रहेको छ।
गाैशाला नगरपालिका – १२ की सुस्मिता कुशवाहाका अनुसार, महिलाहरु धानको लाबा भुटेर बेसारबाट गौरीको आकृति बनाउने, वरको रुखलाई रंगिएको धागोले बेर्ने तथा पूजापछि भोलिपल्ट ब्राह्मण पुरोहितलाई भोजन र दक्षिणा दिएर पर्वको समापन गर्ने चलन रहेको छ।
पहिले मैथिल ब्राह्मण, कायस्थ र सोनार जातिमा सीमित यो पर्व अहिले मिथिला क्षेत्रका विभिन्न जाति–समुदायका महिलाबीच लोकप्रिय बन्दै गएको छ ।

