गाैशाला, जेष्ठ १६ गते ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–२, धिरापुर आवरमा अवस्थित नेपाल राष्ट्रिय सर्वोदय आधारभूत विद्यालयमा निर्माण हुन लागेको ४ कोठे पक्की भवनको शिलान्यास कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
सो भवनको शिलान्यास मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मण्डलले विद्यालयमा भवनको अभावका कारण पठनपाठनमा आएको समस्या अब समाधान हुने आशा व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रमा लगानी गर्नु नै दीर्घकालीन समृद्धिको आधार हुने धारणा राख्नुभयो।
प्राविधिक जानकारीअनुसार चार कोठे पक्की विद्यालय भवन निर्माण कार्यमा करीब ८४ लाख रुपैयाँको लागत लाग्नेछ, जसको सम्पूर्ण लगानी मटिहानी नगरपालिकाबाट हुनेछ।
शिलान्यास कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मोहम्मद रयूफ, वडा नं. १ का वडा अध्यक्ष शिवशंकर कुमार राय, नेपाली काँग्रेसका नेता गरीब दास ठाकुर, खुर्शेद कवारी, वडा नं. २ का पूर्व वडाध्यक्ष शिवचन्द्र झा, शिक्षा संयोजक श्रीश मिश्र, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सत्यनारायण यादव, लोसपा नेता मोसाफिर सहनी, साथै राम जतन यादव, बैकुण्ठ यादव, प्रधानाध्यापक लक्ष्मण मण्डल, अरुण ठाकुर, कैलाश यादव, वडा सदस्यहरू र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयस्तरमा शिक्षा पूर्वाधारको विकासलाई तीव्रता दिने उद्देश्यले यो भवन निर्माण कार्य थालिएको नगरपालिकाले जनाएको छ ।










