नरेन्द्र महताे
गाैशाला, जेष्ठ ३० गते ।
रक्तको अभावका कारण बिरामीहरूले उपचारमा कठिनाइ भोगिरहेका बेला जानकी एकेडेमिक हस्पिटल प्रा.लि., रामगोपालपुर–९, पर्सा देवाड, महोत्तरीमा एक विशेष रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
विश्व रक्तदाता दिवसको अवसर पारेर यहीँ जेष्ठ ३१ गते, शनिबार, बिहान ९:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन हुने कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, जनकपुर शाखा, धनुषाको प्राविधिक सहयोगमा आयोजना हुँदैछ ।
कार्यक्रमको उद्देश्य क्षेत्रीय रक्त सञ्चारमा सहयोग पुर्याउने तथा आकस्मिक अवस्थामा प्रयोग गर्न मिल्ने रक्तको सञ्चिति बढाउने रहेको छ।

जानकी एकेडेमिक हस्पिटलका प्रतिनिधिका अनुसार, हालका दिनमा दुर्घटना, प्रसूति तथा अन्य आकस्मिक सेवाहरूका लागि रक्तको माग उच्च भएको र सोही मागलाई सम्बोधन गर्नका लागि यस कार्यक्रमलाई अत्यन्तै आवश्यक मानिएको छ।
कार्यक्रममा चिकित्सकहरूको निगरानीमा रक्तदान गराइनेछ, जहाँ सहभागी रक्तदाताहरूको स्वास्थ्य परीक्षण तथा सुरक्षाको सम्पूर्ण प्रबन्ध गरिएको आयोजक संस्थाले जनाएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना हुन लागेको उक्त कार्यक्रममा सबै स्थानीयवासी, युवा क्लब, विद्यार्थी, समाजसेवी तथा इच्छुक व्यक्तिहरूलाई उपस्थित भई रक्तदान गरेर मानव सेवा गर्ने अवसरको सदुपयोग गर्न हार्दिक अनुरोध गरिएको छ।


