सिरहा, जेष्ठ ३० गते ।
सिरहाको लहान नगरपालिकाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका अधिकृत राजन बुढाथोकी, पशु सेवा कार्यालय लहानका शाखा अधिकृत रामकृष्ण यादव, नगरपालिकाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाको टोलीले लहान–१ स्थित तरकारी बजार आसपासका मासु पसल र डेरीमा अनुगमन गरेका छन्।
अनुगमनका क्रममा दर्जनौं मासु पसलहरू सरकारी मापदण्ड विपरीत भेटिएका छन्। सरसफाइ नभएको, झिङ्गा देखिएको, ताजा मासुको अभाव र सिसा नलगाइएको कारण सात दिनभित्र सुधार गर्न सुझाव दिइएको छ। मासु पसलभित्र सेतो टायल तथा चिप्लो भुइँ अनिवार्य गर्न भनिएको छ। साथै, सार्वजनिक नालामा पसल फराकिलो बनाइएको केही समान हटाइएको छ।
त्यसैगरी, निरीक्षण क्रममा भेटिएका तीन डेरीमध्ये दुई वटा फोहर अवस्थामा रहेको र मापदण्ड नपुगेको पाइएपछि सम्बन्धित व्यवसायीलाई खाद्य तथा गुण नियन्त्रण कार्यालयमा सम्पर्क गरी आवश्यक सुधार गर्न सुझाव दिइएको अनुगमन टोलीले जनाएको छ।

