काठमाडौं, जेष्ठ ३१ गते ।
काठमाडौँमा आयोजित दुईदिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलन २०२५ सम्पन्न भएको छ । सम्मेलनको समापन सात बुँदे संकल्प (घोषणापत्र) जारी गर्दै गरिएको हो । सम्मेलन नेवा राष्ट्रिय पत्रकार संघको आयोजनामा सार्क पत्रकार मञ्च र फोनिजको सहकार्यमा सम्पन्न भएको हो ।
१३ जुनमा संघीय संसदका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभएको सम्मेलनको १४ जुनमा समापन मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।समापन समारोहमा प्रमुख श्रेष्ठले मातृभाषाको प्रवर्द्धनमा सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
सम्मेलनको समापन कार्यक्रम नृपेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामा ले सबै सरोकारवालालाई घोषणापत्रलाई गम्भीरतापूर्वक लिन र कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो ।साथै, सार्क क्षेत्रका सबै सरकारहरूसँग भविष्यमा पनि यस्ता सम्मेलनहरूमा सहयोग गर्न आह्वान गर्नुभयो ।
फोनिजका अध्यक्ष लकी चौधरी, बङ्गलादेशबाट सहभागी एसजेएफका महासचिव मोहम्मद अब्दुर रहमान, भारतबाट एसजेएफ बिहार च्याप्टरका अध्यक्ष शशि भूषण कुमार, सम्मेलनका संयोजक सुनिल महर्जन, एनएफएनजेका महासचिव केके मनन्धर लगायतले मातृभाषाको महत्व र संरक्षणको आवश्यकता विषयमा धारणा राखेका थिए ।
घोषणापत्रमा सार्क देशका सरकार प्रमुखहरूलाई सम्मेलनको घोषणापत्र बुझाउने, मातृभाषा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने, मातृभाषा सञ्चारगृहहरूलाई प्रवर्द्धन गर्न सरकारबाट बजेट माग गर्ने र सरोकारवालाहरूबीच नियमित छलफलको माध्यमबाट मातृभाषा पत्रकारिताको चेतना विस्तार गर्नेजस्ता विषयहरू समेटिएका छन् ।

