महोत्तरी, असार ४ गते ।
महोत्तरीको मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगर प्रमुख हरिप्रसाद मण्डलले नगरसभाको खुला सत्रमा नीति तथा कार्यक्रमसहित उक्त बजेट सार्वजनिक गरेका हुन्।
नगर प्रमुख मण्डलले प्रस्तुत गरेको बजेटमा संघीय सरकारबाट २८ करोड १० लाख, राजस्व बाँडफाँडबाट १० करोड ५ लाख, प्रदेश सरकारबाट १ करोड २६ लाख र आन्तरिक श्रोतबाट ५ करोड ९० लाख रहने उल्लेख गरिएको छ।

तीन प्रमुख क्षेत्रलाई प्राथमिकता
बजेट प्रस्तुत गर्दै मेयर मण्डलले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिक क्षेत्रको रूपमा पहिचान गर्दै सोहीअनुसार योजना बनाइएको जानकारी दिए।
कृषि र पशुपालनलाई व्यावसायिक बनाउँदै युवाको सहभागिता बढाउने, तालिम तथा स्वरोजगारलाई प्रोत्साहन दिने, र आधुनिक खेती प्रणाली अपनाउने कार्यक्रम अघि सारिएको छ।
शिक्षाको क्षेत्रमा नगरभित्र कक्षा १ देखि ८ सम्म मैथिली भाषा अनिवार्य गरिने, जेहेनदार, गरिब, दलित तथा अपांग विद्यार्थीलाई छात्रवृत्ति दिइने, छात्राहरूलाई साइकल र ल्यापटप वितरण गरिने, साथै फ्री बुक एन्ड ब्याग डे कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
स्वास्थ्य क्षेत्रमा बर्थिङ सेन्टरबाट रेफर भएका सुत्केरी महिलालाई जनकपुरसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ। साथै, गर्भवती महिलालाई नि:शुल्क अल्ट्रासाउन्ड सेवा दिइनेछ भने आयुर्वेद तथा पारम्परिक चिकित्सा प्रवर्द्धन गरिनेछ।

धार्मिक पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास
पर्यटन प्रवर्द्धनका लागि मटिहानी मठलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सिफारिस गरिने र नगर क्षेत्रभित्रका पोखरी, गोसाइँकुण्ड, जलसागर लगायत धार्मिकस्थलहरूको सौन्दर्यीकरण गरिने योजना बजेटमा समावेश छ। यसैगरी मठ, मन्दिर तथा मस्जिदहरूलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनेछ।
पर्यटन प्रवर्द्धनकै उद्देश्यले नगरपालिकाका कर्मचारीलाई १० दिनको तलबसहितको पर्यटन काजको व्यवस्था गरिने जनाइएको छ।
अन्य क्षेत्रको समेत सम्बोधन
बजेटमा समावेशी विकास, गरिबी निवारण, पूर्वाधार, सिँचाइ, भवन निर्माण, उद्योग व्यवसाय प्रवर्द्धन, सञ्चार, वातावरण संरक्षण, विपद् व्यवस्थापन, खेलकुद, कला-संस्कृति, तथा सुशासनसँग सम्बन्धित नीति तथा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।















