सर्लाही, असार ७ गते ।
सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा सडक विस्तारसम्बन्धी विवादले शनिबार बिहान दुई पक्षबीच झडप हुँदा गोलीसमेत चलेको छ। झडपमा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) दीवाकर गणेशसहित तीन जना घाइते भएका छन्।
झडप शुक्रवारको एक घटनालाई लिएर सुरु भएको थियो, जहाँ कांग्रेस समर्थकले शशि खडकालाई कुटपिट गरेका थिए। सोही घटनालाई लिएर आज पुनः वादविवाद चर्किएपछि स्थिति तनावग्रस्त बनेको हो। झडपका क्रममा प्रहरीले हस्तक्षेप गर्दा ईन्स्पेक्टर गणेश घाइते भएका हुन् भने अन्य दुई जना स्थानीय आपसमा भिड्दा घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ र घटनाको विस्तृत विवरण आउन बाँकी छ। अहिले घटनास्थलमा डीएसपीको नेतृत्वमा प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ र अवस्था नियन्त्रणमा आएको बताइएको छ।
पीडित पक्षका अनुसार घटनामा कांग्रेस र एमालेका कार्यकर्ताहरूको संलग्नता रहेको दाबी गर्दै आएका छन्। घाइते महिला सबिता खडकाले आफूहरूलाई राजनीतिक पहुँच र सत्ताको आडमा कुटपिट गरिएको आरोप लगाएकी छन्।

