गाैशाला, असार ७ गते ।
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ४७ लाख १७ हजार ९ सय ७ रुपैयाँ बराबरको कुल बजेट सार्वजनिक गरेको छ। शनिबार गाउँपालिकाको कार्यालयमा सम्पन्न ११ औं गाउँसभाबाट बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरिएको हो ।
नीति तथा कार्यक्रमसहितको बजेट
गाउँपालिकाले प्रस्तुत गरेको कुल बजेटमध्ये ४८ करोड ८९ लाख ५७ हजार ९ सय ७ रुपैयाँ चालु खर्च तथा नीति कार्यक्रम सञ्चालनमा विनियोजन गरिएको छ । त्यसमध्ये सामाजिक सुरक्षा भत्ता शीर्षकमा मात्रै १४ करोड ५७ लाख ६० हजार रुपैयाँ छुट्याइएको गाउँपालिकाले जनाएको छ ।
प्राथमिकता प्राप्त क्षेत्रहरू:
गाउँपालिकाले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा निम्न क्षेत्रहरूलाई प्राथमिकता दिइएको छ:
शिक्षा: आधारभूत संरचना सुधार, डिजिटल सामग्रीको पहुँच, छात्रवृत्ति कार्यक्रम
स्वास्थ्य: स्वास्थ्य संस्था सुदृढीकरण, औषधि उपलब्धता, मातृशिशु स्वास्थ्य सेवा
कृषि: बीउ, मल, सिँचाइ तथा प्रविधिमा आधारित उत्पादन प्रणाली
सामाजिक सुरक्षा: जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरूलाई भत्ता तथा सेवा
भौतिक पूर्वाधार: सडक, नाला, खानेपानी, सार्वजनिक भवन निर्माण
सूशासन र पारदर्शिता: सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, अनुगमन प्रणाली
अध्यक्ष रामनाथ यादवले नीति तथा कार्यक्रम जनताको आवश्यकता र सुझावका आधारमा तयार गरिएको जानकारी दिँदै विकास निर्माणको गति तिव्र पार्ने प्रतिवद्धता व्यक्त गरे।
उनले सामाजिक उत्तरदायित्व, पारदर्शिता र सहभागितामूलक विकासलाई कार्यान्वयनको मूल आधार बनाइने पनि बताए।
गाउँसभा कार्यक्रमको क्रममा विभिन्न वडाबाट आएका सुझाव र प्रश्नहरूको जवाफ दिँदै जनप्रतिनिधिहरूले योजनाको कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
गाउँसभामा गाउँपालिका अध्यक्ष रामनाथ यादवको अध्यक्षतामा तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। उपाध्यक्ष अनिता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत ई. मनोज साह, वडा नं. १ देखि ७ सम्मका वडा अध्यक्षहरू, सम्पूर्ण शाखा प्रमुख, कर्मचारी, वडा सचिव, राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।







