जनकपुरधाम, असार ९ गते ।
धनुषा जिल्लाको शहिदनगर नगरपालिकाको १३ औं नगर अधिवेशन विधिवत रूपमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन मधेश प्रदेशसभा सदस्य तथा समाजवादी नेता रामअशिष यादवले गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै नेता यादवले संघीय लोकतान्त्रिक गणतन्त्र प्रणालीले देशको ग्रामीण क्षेत्रको विकासमा उल्लेखनीय गति दिएको उल्लेख गरे। उहाँले संघीयताको अभ्याससँगै मधेशका ग्रामीण भूभागहरूमा पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधार आएको धारणा राखे ।

कार्यक्रममा शहिदनगर नगरपालिकाका नगरप्रमुख दिनेश प्रसाद यादवले अधिवेशनको अध्यक्षता गर्दै नगरको समग्र विकासमा आफू निरन्तर लागिपरेको बताउनुभयो। उहाँले आफ्नो कार्यकालमा नगर क्षेत्रका सडक, नाला, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गरे। नगरप्रमुख यादवले “एकीकृत विकास निर्माण कार्यक्रम” मार्फत जनतामाझ प्रत्यक्ष सेवा पु¥याउने कार्यप्रति प्रतिबद्धता व्यक्त गरे ।
नगर अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत उमेश साह, वडा नं. ३ का वडा अध्यक्ष मनोज दास, वडा नं. ५ का सुरेश कापर, वडा नं. ८ का तनुकलाल कुसियात यादव, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजदेव यादव, नेकपा (माओवादी केन्द्र) का नेता भोला यादवलगायत कार्यपालिका सदस्यहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन रामसिकिल यादवले गरेका थिए ।
अधिवेशनकै अवसरमा आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिकाको ६२ करोड ७२ लाख ३५ हजार ४ सय ८ रुपैयाँको वार्षिक नीति तथा बजेट कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।




