ऐजेन्सी
दोहा, असार १० गते ।
इरानले सोमबार कतारको राजधानी दोहा नजिकै रहेको अमेरिकी सैन्य अड्डातर्फ मिसाइल आक्रमण गरेको छ । तर, कतारको सुरक्षात्मक संयन्त्रले ती मिसाइलहरू समयमै निस्क्रिय पार्न सफल भएको र यसबाट कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ ।
कतार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल-अन्सारीले विज्ञप्ति जारी गर्दै यो घटनालाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र तथा अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेका छन् । उनले यस प्रकारका आक्रमणले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्ने चेतावनी दिँदै शान्तिपूर्ण संवादमा फर्कन इरानलाई आग्रह गरेका छन् ।
उनका अनुसार अल उदीद सैन्य अड्डाबाट सबै सुरक्षात्मक उपाय अपनाउँदै सैनिक तथा कर्मचारीहरूको सुरक्षित स्थानान्तरण गरिएको थियो । मिसाइल आक्रमणमा कुनै पनि घाइते वा हताहत नभएको स्पष्ट गरिएको छ ।
यस आक्रमणको जिम्मेवारी इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (IRGC) ले लिएको छ। उनीहरूले यस मिसनलाई ‘अभिनन्दनको विजय’ नाम दिएका छन् र इराक तथा कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरिएको बताएका छन् । IRGC का अनुसार, अल उदीद अड्डा पश्चिम एसियामा अमेरिकी वायुसेनाको प्रमुख केन्द्र हो ।
इरानले आफ्ना राष्ट्रिय हित, भूभागीय अखण्डता तथा सुरक्षामा भएको कुनै पनि हस्तक्षेपको जवाफ दिन बाध्य हुने जनाएको छ। यो आक्रमण अमेरिकी सेनाले शनिबार इरानका तीनवटा परमाणु केन्द्रमा गरेको हवाई आक्रमणको प्रतिशोध स्वरूप भएको बताइएको छ ।
आक्रमणको सुरुवातसँगै खाडी क्षेत्रका केही राष्ट्रहरूले सतर्कता स्वरूप हवाई मार्ग अस्थायी रूपमा बन्द गरेका छन्। कतार र संयुक्त अरब इमिरेट्सले आक्रमण हुनु अघि नै आकाश मार्ग बन्द गरेका थिए भने बहराइन र कुवेतले पनि सोमबार आंशिक हवाई मार्ग बन्दको घोषणा गरेका छन् ।

