गाैशाला, असार ११ गते ।
“सुखी, समृद्ध जीवन्त सहर, बालविवाहमुक्त मटिहानी नगर” भन्ने मूल नाराका साथ मटिहानी नगरपालिका–७ को आयोजनामा आज बिहान बालविवाह न्यूनीकरण सम्बन्धी जनचेतनामूलक र्याली सम्पन्न गरिएको छ ।

र्यालीमा मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मण्डल सहभागी भई बालविवाह अन्त्यका लागि सबै पक्षको संलग्नता आवश्यक रहेको धारणा व्यक्त गरे । बाल अधिकार, शिक्षा र सामाजिक न्यायका दृष्टिले बालविवाह गम्भीर चुनौती भएको उल्लेख गर्दै उनले नगरपालिकाले यस विषयलाई प्राथमिकताका साथ अभियानका रूपमा अगाडि बढाइरहेको बताए ।
जनचेतनामूलक र्यालीले मटिहानी नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गर्दै बालविवाहको असर, कानुनी चेतना र सामाजिक सन्देश प्रवाह गर्यो ।
र्यालीमा विशिष्ट सहभागिता
कार्यक्रममा वडा नं.–७ का वडाध्यक्ष श्री जितनारायण माझी, वडा नं.–३ का श्री नाजिर मिया, वडा नं.–६ का श्री कलीम अंसारी, वडा नं.–८ का श्री रितेश साह, कार्यपालिका सदस्यहरू, वडा नं.–७ का वडासचिव श्री उमेश मण्डल, नगरपालिका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी, अभिभावक र स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमले बालविवाह जस्तो सामाजिक कुरीतिलाई अन्त्य गर्न सामूहिक प्रयास र चेतनामूलक अभियानको आवश्यकता औंल्याएको छ। सहभागीहरू प्लेकार्ड, ब्यानर र नारासहित मटिहानीको मुख्य सडक परिक्रमा गर्दै बालविवाहविरुद्ध एकीकृत आवाज उठाएका थिए।
नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदाय–केन्द्रित चेतना अभिवृद्धिमा जोड दिने बताइएको छ ।













