धनुषा, असार १३ गते ।
धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा स्थानीय उत्पादन प्रवर्द्धन र पर्यटन विकासको उद्देश्यसहित “चित्रपुर आँप मेला महोत्सव – २०८२” आयोजना हुने भएको छ। असार १४ र १५ गते हुने दुई दिने मेलाको आयोजना चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डले गर्न लागेको हो।
मेला आयोजक समितिका सदस्य फुलगेन मगहीका अनुसार, यो दोस्रो संस्करणको आँप मेला हो। ४० भन्दा बढी जातका आँपहरू र आँपबाट बनेका जुस, अचार, परिकारहरू प्रदर्शनीमा राखिने छन्। पर्यटकका लागि निःशुल्क आँप चाख्ने, बगैंचामा घुम्ने, तथा रुखबाट आँप टिप्ने अनुभव गराउने कार्यक्रमहरू समेत समावेश गरिएको छ। विद्यार्थीहरूलाई विविध जातका आँप चिनाउने शैक्षिक गतिविधि पनि मेलामा रहनेछ।
चित्रपुर क्षेत्रमा हाल तीन सय बिघाभन्दा बढी जमिनमा आँप खेती हुँदै आएको छ। बटेश्वर गाउँपालिका पूर्व–पश्चिम लोकमार्ग नजिकै भएकाले यो क्षेत्र आन्तरिक पर्यटनको सम्भावनायुक्त गन्तव्य हुने आयोजकहरूको विश्वास छ।
आयोजकले चित्रपुरलाई दीर्घकालीन रूपमा “आँप पर्यटन नाका” को रूपमा विकास गर्ने लक्ष्य लिएको छ। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न मेला प्रभावकारी हुने अपेक्षा गरिएको छ।
तथ्याङ्कअनुसार, मधेश प्रदेश देशको कुल आँप उत्पादनमा ७७.१ प्रतिशत योगदान दिँदै आएको छ।

