पवन प्रसाद साह
बिरगंज, असार १३ गते ।
नेशनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तहमा भर्ना भएका ५३ जना विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा कलेज व्यवस्थापन, प्राध्यापक तथा चिकित्सकहरूले विद्यार्थीहरूलाई मेहनत, अनुशासन र मानवीयताका साथ अध्ययन अघि बढाउन सुझाव दिएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले नेपालको चिकित्सा शिक्षा पछिल्ला वर्षमा गुणस्तरीय र प्रतिस्पर्धात्मक भएको उल्लेख गर्दै पीजी तहमा झनै लगनशीलताका साथ अध्ययन गर्नुपर्ने बताउनुभयो। उहाँले विगतको तुलना गर्दै आज महिला विद्यार्थीहरूको उल्लेखनीय सहभागिता र उपलब्धिलाई “गर्व गर्न लायक” विषय भएको पनि बताउनुभयो ।
प्रबन्ध निर्देशक शाहनावाज अन्सारीले स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत जनशक्तिले “बिरामी नै मेरो किताब हो” भन्ने सोच राख्दै संवेदनशील रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पछिल्लो समय चिकित्सा क्षेत्र जटिल हुँदै गएको भन्दै बिरामी उपचारमा लापरवाही नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रिन्सिपल प्रा.डा. केएन सिंह, अस्पताल निर्देशक डा. इसरत जहाँ अन्सारी, भाइस प्रिन्सिपल डा. रवि शंकर गुप्ता, नर्सिङ निर्देशक प्रो. गंगा गुरुङ, पीजी संयोजक डा. रवि कुमार शाह लगायत प्रमुख पदाधिकारी तथा पीजी फ्याकल्टी सदस्यहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन कलेजका विद्यार्थी आयुस्मा महतो र एस्वर्या वेनेसाले गरेका थिए ।



