धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, असार १४ गते ।
ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाको अध्यक्षमा सद्दाम हुसेन अन्सारी चयन भएका छन् । संगठनको प्रथम जिल्ला अधिवेशनले उनलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो ।
विजयनगर गाउँपालिका–खडैचामा सम्पन्न अधिवेशनले अन्सारीको नेतृत्वमा १९ सदस्यीय जिल्ला कार्यसमिति समेत चयन गरेको छ। कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा अलि हसन मुसलमान, उपाध्यक्षमा नुरुलाह पठान, सचिवमा अहमद यार खाँ, सह-सचिवमा असगर अलि भाँट, र कोषाध्यक्षमा मोहम्मद अहमद रजा रहेका छन् ।
त्यस्तै, ओल्मा काउन्सिल नेपालका जिल्ला इन्चार्जमा मुजिवउर्रहमान र मिडिया इन्चार्जमा नौशाद अलि मियाँलाई जिम्मेवारी दिइएको छ।
कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सिराज अहमद फारुकीले संविधानमा सुनिश्चित हक–अधिकार प्राप्त गर्न मुस्लिम समुदाय एकजुट भएर अघि बढ्नुपर्ने बताए। उनले मुस्लिम समुदाय शिक्षा क्षेत्रमा पछि परेको उल्लेख गर्दै जनचेतनामूलक कार्यक्रमको आवश्यकता औंल्याए।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले मुस्लिम समुदायको हितका लागि प्रदेश र संघ सरकारसँग सहकार्य गर्दै बजेट विनियोजनको प्रतिबद्धता जनाए। उनले समुदायभित्र एकता आवश्यक रहेको समेत जोड दिए।
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष अनवर मोहम्मद मुसलमान, वडा नं. ७ का अध्यक्ष दिनेश कुमार चौधरी, समाजसेवी डा. जहिरुल खाँ, भुलन शाह, मौलानाहरू लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

