पवन प्रसाद साह
बिरगंज : दर्शनशास्त्रका चर्चित प्राध्यापक तथा हाल एल.एन.टी. महाविद्यालयका प्राचार्य डा. अभय कुमार सिंह नालन्दा ओपन युनिभर्सिटीको रजिष्ट्रार नियुक्त भएपछि पहिलो पटक हाजीपुर पुग्दा उहाँको तथा उहाँकी धर्मपत्नी अनुराधा राजपूतको पुष्पगुच्छ र मिष्ठान्न खुवाएर भव्य स्वागत तथा अभिनन्दन गरिएको छ ।
स्वागत गर्नेहरूमा एस.एन. कलेजका प्राध्यापक डा. नरेन्द्र कुमार सिंह, मानव अधिकार पत्रकारिताका अन्तर्राष्ट्रिय संवाहक तथा हिन्दी साहित्य सम्मेलन, वैशालीका अध्यक्ष डा. शशिभूषण कुमार, डा. रमेश कुमार, नालन्दा इन्जिनियरिङ कलेज चण्डीका मुस्ताक कादरी, डा. शिव बच्चन सिंह लगायत सयौँ विशिष्ट व्यक्तिहरू सहभागी थिए ।
ज्ञातव्य छ कि डा. अभय कुमार सिंह वैशाली जिल्लाको सबैभन्दा चर्चित शिक्षालय आर.एन. कलेज, हाजीपुरको दर्शनशास्त्र विभागमा लोकप्रिय र विद्वान प्राध्यापकका रूपमा चिनिनुहुन्थ्यो। त्यसपछि उहाँले रामेश्वर सिंह महाविद्यालय, मुजफ्फरपुर र एल.एन.टी. महाविद्यालयमा प्राचार्यको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।
उहाँ बी.आर.बी.ए. विश्वविद्यालयमा पटक–पटक डिन पनि रहनुभएको छ। उहाँको कार्यकालमा धेरै महत्वपूर्ण सेमिनारहरूको आयोजना गरिएको थियो । हालै वैशालीमा मानव अधिकार टुडेद्वारा आयोजित सार्क राष्ट्रहरूको अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनको एक वैचारिक सत्रको अध्यक्षता पनि डा. अभय कुमार सिंहले गर्नुभएको थियो। उक्त कार्यक्रममा मौरिससबाट प्रमुख अतिथि वक्ता तथा अन्तर्राष्ट्रिय सांस्कृतिक संवाहिका एवं लेखिका डा. सरिता बुद्धु समेत सहभागी हुनुहुन्थ्यो ।

