काठमाडौं, असार २४ गते ।
बाग्मती नदीको जलस्तर सतर्कता तह पार गरेपछि काठमाडौंको गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती र जोरपाटी क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन बाढी महाशाखाले आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी महाशाखाका इञ्जिनीयर आशीष भट्टका अनुसार मङ्गलबार राति १२ बजेदेखि लगातार वर्षा भइरहेको र राति २ बजेपछि बाग्मती नदीको जलसतह सतर्कता सीमा पार गरेको हो। यससँगै जोखिममा रहेका क्षेत्रमा मोबाइल सन्देशमार्फत सतर्कता सूचनाहरू पठाइएको उनले जानकारी दिए।
त्यसैगरी कपन क्षेत्रको धोबीखोला (रुद्रमती) को जलसतह पनि सतर्कता तह नजिक पुगेको जनाइएको छ।
राजधानीका अधिकांश क्षेत्रमा मङ्गलबार रातिदेखि करिब २५ मिलिमिटर प्रति घण्टाको दरमा पानी परिरहेको हुँदा थप जोखिम हुन सक्ने आँकलन गर्दै महाशाखाले सुरक्षित स्थानमा बस्न, नदी किनारमा नजान र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।

