महोत्तरी, असार २८ गते ।
नेपाल–भारत मैत्री सम्बन्धबारे युवाहरूलाई सचेत गराउने उद्देश्यले आयोजित निबन्ध लेखन प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
नेपाल भारत मैत्री संघ नेपालको आयोजनामा “नेपाल–भारत सम्बन्ध : हिजो, आज र भोलि” विषयमा आयोजित उक्त प्रतियोगिता महोत्तरीको जलेश्वरस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयमा सम्पन्न भएको हो। प्रतियोगितामा सामुदायिक विद्यालयका २१ छात्र र २१ छात्रा गरी कुल ४२ विद्यार्थी सहभागी भए।
विद्यार्थीहरूले दुई देशबीचको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पारिवारिक सम्बन्धलाई लेखमार्फत प्रस्तुत गरे। उनीहरूले भविष्यमा सम्बन्ध अझ प्रगाढ बनाउन सकिने उपायहरूबारे समेत धारणा व्यक्त गरेका थिए।
प्रतियोगितामा सहभागी कक्षा १० का विद्यार्थी प्रज्ञान चन्द्र ठाकुरले यस्ता कार्यक्रमले नयाँ कुरा सिक्न प्रेरणा दिने बताए भने अर्की छात्रा नन्दनी पाण्डेयले विषय नयाँ र चासोको भएको बताउँदै यस्तो अवसरले आत्मविश्वास बढेको प्रतिक्रिया दिइन्।
कार्यक्रममा संघका केन्द्रिय महासचिव उमेश प्रसाद सिंहले निबन्ध प्रतियोगिताबाट विद्यार्थीहरूमा नेपाल–भारत सम्बन्धप्रतिको समझदारी बढ्ने विश्वास व्यक्त गरे। उनले युवामा बौद्धिक चेतना अभिवृद्धिका साथै दुई देशबीचको मित्रता झन् बलियो बनाउन कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।
संघका मधेश प्रदेश अध्यक्ष लवराजा सिंहले मधेश प्रदेश भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले यस्ता जनस्तरका कार्यक्रमहरू अपरिहार्य रहेको बताए। उनले सिमावर्ती क्षेत्रमा देखिने भ्रम तथा नकारात्मक सोच हटाउन संघले निरन्तर कार्य गर्दै आएको जानकारी दिए।
प्रतियोगिताको नतिजा सार्वजनिक भएपछि विजेताहरूलाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ। साथै यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिइने संघले स्पष्ट पारेको छ।

