पवन प्रसाद साह
बिरगंज, साउन १ गते ।
नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल, बिरगंजले पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाललाई एक विशेष समारोहका बीच सम्मानपूर्वक विदाई गरेको छ।
पर्सामा कार्यरत रहँदा उनले समाजिक उत्तरदायित्व तथा शान्ति सुरक्षामा पुयाएको उल्लेखनीय योगदानको कदर गर्दै कलेज प्रशासनले विदाई कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रम कलेजका अध्यक्ष प्रो. डा. जैनुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डा. ईसरत जहाँ अन्सारी, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, प्रधानाध्यापक प्रो. डा. के.एन. सिंह लगायत पर्साका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
वक्ताहरूले एसपी धिमालको कार्यकाललाई स्मरणीय र प्रेरणादायी बताउँदै वीरगंजको सुरक्षा व्यवस्थामा उनको भूमिकाको खुलेर प्रशंसा गरेका थिए।
समापनमा एसपी धिमालले नेशनल मेडिकल कलेजप्रति आभार प्रकट गर्दै, “सामाजिक संस्थाहरूको साथ र समर्थनले प्रहरी प्रशासन अझ प्रभावकारी र जनमैत्री बन्न सक्छ,” भन्ने विश्वास व्यक्त गरेको प्रेस सल्लाहकार आशिक अन्सारीले जानकारी दिए ।

