पवन प्रसाद साह
बिरगंज, साउन १ गते ।
राष्ट्रिय एकता अभियान पर्साद्वारा वीरगंजमा आयोजित “जेहादी आतंकवाद र मधेश – नेपालको सुरक्षा चुनौती” विषयक विशेष बहस कार्यक्रममा वक्ताहरूले भारत–नेपाल खुला सिमानाको दुरुपयोग गर्दै पाकिस्तान समर्थित आतंकवादी समूहहरूले नेपाललाई गम्भीर आन्तरिक सुरक्षा संकटतर्फ धकेलिरहेको चेतावनी दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपालमा रहेको पाकिस्तानी दूतावास नै आतंकवादको कारखाना बनेको आरोप लगाउँदै सो दूतावास नेपालबाट हटाउनुपर्ने माग सार्वजनिक रूपमा गरे।
“दूतावासको नाममा आतंकको कारखाना”
यादवले पाकिस्तानलाई “दुनियाँको एकमात्र यस्तो देश जसले आतंक उत्पादन गर्छ र निर्यात गर्छ” भनी टिप्पणी गर्दै भने, “नेपालस्थित पाकिस्तानी दूतावासका कर्मचारीहरू यस गतिविधिमा प्रत्यक्ष संलग्न छन्। विगतमा नेपाल सरकारले केहीलाई फिर्ता पठाएको उदाहरण पनि छ। अब यस्ता केन्द्रहरू हटाइनुपर्छ।”
सुरक्षा चुनौतीबारे गहिरो बहस
कार्यक्रममा बोल्दै राष्ट्रिय एकता अभियानका केन्द्रीय उपाध्यक्ष तथा पूर्व संविधानसभा सदस्य भूपेन्द्र चौधरी र प्राध्यापक देवेन्द्र मिश्रले आतंकवादको बदलिँदो रूप, यसको क्षेत्रीय असर, र पाकिस्तानको भूमिका बारे विश्लेषण गरे । वक्ताहरूले सन् १९८० को दशकदेखि पाकिस्तानको गुप्तचर संस्था आईएसआईले कश्मीरमा अशान्ति फैलाउन नेपाललाई ट्रान्जिट बनाउँदै आएको प्रमाणहरू प्रस्तुत गरे।
नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै धार्मिक कट्टरपन्थ, आर्थिक नेटवर्क र राजनीतिक हस्तक्षेपमार्फत नेपालभित्र आतंकी सञ्जाल विस्तार भइरहेको उनीहरूको ठहर थियो।
“नेपाल आतङ्कको भुइँचालो बन्ने छैन”
यादवले कुख्यात आतङ्ककारीहरू अब्दुल करिम टुण्डा, सैफुल्लाह, यासिन भटकल आदिले नेपाललाई लुकेर योजना बनाउने स्थल बनाएको प्रसंग स्मरण गर्दै भने, “नेपालमा आतंकवादको स्थायी श्रृङ्खला नबनाओस् भन्ने हाम्रो साझा जिम्मेवारी हो। अब हामीले खुला रूपमा विश्व समुदाय सामु सन्देश दिनुपर्छ – नेपाल पाकिस्तानी आतंकको भुइँचालो बन्ने छैन।”
कूटनीतिक नीति र सार्कबारे टिप्पणी
प्राध्यापक मिश्रले नेपाल अब कुनै पनि आतंकी संगठनको “हाइडआउट” नबनून् भन्ने स्पष्ट कूटनीतिक नीति अपनाउनु पर्नेमा जोड दिए । त्यसैगरी अध्यक्ष यादवले पाकिस्तानकै कारण सार्क निष्क्रिय बन्दै गएको बताए । “सार्क आज पाकिस्तानको आतंकवादी राजनीतिले कोमामा पुगेको संस्था हो,” यादवले भने।
बृहत सहभागिता
कार्यक्रम राष्ट्रिय एकता अभियान पर्सा संयोजक बिकाऊ भण्डारी थारूको अध्यक्षतामा सम्पन्न भएको हो । सो अवसरमा समाजसेवी डा. अजय यादव, प्रदेशसभा उम्मेदवार शिवकुमार साह, नेपाली कांग्रेसका युवा नेता राकेश यादव, पत्रकार, अनुसन्धानकर्ता, सुरक्षा विशेषज्ञ, राजनीतिक विश्लेषक लगायत विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





