बर्दिवास, साउन १ गते ।
महाेत्तरीकाे बर्दिवास नगरपालिकाले नगर क्षेत्रभित्र बसोबास गर्ने मृगौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघात पीडित दीर्घरोगीहरूलाई दिइँदै आएको औषधि खर्च सुविधा निरन्तर पाउन भदौ मसान्तभित्र विवरण नविकरण गर्न आग्रह गरेको छ।
नेपाल सरकारको निर्णयअनुसार दीर्घरोगीहरूलाई मासिक रु. ५,००० औषधि उपचार खर्च प्रदान गरिँदै आएकोमा, यो सेवा आगामी आर्थिक वर्षमा पनि निरन्तर प्राप्त गर्न लाभग्राहीले मौजुदा विवरण अद्यावधिक गर्नुपर्ने नगरपालिकाले स्पष्ट पारेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “नविकरण नगरेमा भुक्तानी बन्द हुनेछ, त्यसैले तोकिएको समयभित्र आवश्यक कागजातसहित विवरण नविकरण गर्नुहुन अनुरोध छ।”

पेश गर्नुपर्ने कागजातहरू:
उपचाररत अस्पतालबाट प्राप्त अनुसूची–१ अनुसारको प्रमाणित पत्र
बिरामीको नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
बिरामीको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाताको चेकको प्रतिलिपि
सम्बन्धित वडा कार्यालयबाट प्राप्त सिफारिस पत्र
नगरपालिकाले वडा नं. १ देखि १४ सम्मका सबै वडाहरुलाई सूचना लाभग्राहीसम्म पु¥याउन निर्देशन दिइसकेको छ।
यो सेवा सामाजिक समावेशीता र स्वास्थ्यमा पहुँच सुनिश्चित गर्ने नगरपालिकाको पहल भएको उल्लेख गर्दै, नगर प्रशासनले यो योजनाले दीर्घरोगी नागरिकहरूका लागि जीवनरक्षाको भरपर्दो आधार बन्ने विश्वास व्यक्त गरेको छ।

