चन्दन कुमार महताे
रौतहट, साउन २ गते ।
ईशनाथ नगरपालिकाले लामो समयदेखि स्वास्थ्य सेवामा समर्पित दुई महिला स्वास्थ्य स्वयंसेविका अनार देवी र मालती वर्मालाई सम्मानसहित विदाइ गरेको छ।
शुक्रवार आयोजित कार्यक्रमका अवसरमा प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले दुवै सेविकालाई दोसाला ओढाई तथा नगद ५,००० रुपैयाँसहित सम्मान गरे। उहाँले विगत ५० वर्षदेखि निरन्तर रूपमा समुदायमा स्वास्थ्य सेवा पुर्याउँदै आएको योगदानलाई प्रेरणादायी भन्दै आभार व्यक्त गरे ।

> “उहाँहरूले स्थानीयस्तरमै समर्पित भएर काम गर्नुभएको छ, जसले सयौं नागरिकलाई स्वास्थ्य लाभ दिलाएको छ,” – प्रमुख प्रशासकीय अधिकृत गुप्ता
कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख रविन्द्र झा, योजना प्रमुख ईशराजूल खा, नगर प्रमुखका स्वकीय सचिव प्रमोद यादव, सञ्चारकर्मी तथा अन्य स्थानीयहरूको उपस्थिति थियो।
सम्मानित स्वयंसेविकाहरूले सम्मानप्रति गौरव र कृतज्ञता व्यक्त गर्दै आफूहरूले गरेका सेवाको कदर पाउँदा थप उत्साह मिलेको प्रतिक्रिया दिए।
नगरपालिकाले भविष्यमा पनि स्वास्थ्य तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई यसैगरी सम्मान गरिने प्रतिबद्धता जनाएको छ।

