राजेश सिंह
महोत्तरी, साउन २ गते ।
नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिक, धार्मिक र सांस्कृतिक आधारमा जोडिएको बताउँदै यसलाई अझ सशक्त बनाउन युवा पुस्ताको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् ।
नेपाल भारत मैत्री संघ, मधेश प्रदेशको आयोजनामा जलेश्वरमा सम्पन्न “सम्मान तथा पुरस्कार वितरण कार्यक्रम” मा बोल्दै मन्त्री भण्डारीले भने, “राम–सीताको सम्बन्धबाट सुरु भएको हाम्रो ऐतिहासिक मित्रता आजसम्म पनि जीवित छ। नेपालको भूमि कहिल्यै भारतविरुद्ध प्रयोग हुन दिइँदैन ।”
उक्त कार्यक्रममा “नेपाल–भारत सम्बन्ध : हिजो, आज र भोलि” विषयमा धनुषा र महोत्तरी जिल्लाका विद्यालयहरूबीच आयोजित निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने ४२ जना विद्यार्थीहरूलाई साइकल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमले नेपाल–भारतबीचको मित्रता प्रवर्द्धन गर्ने, नयाँ पुस्तामा मैत्री भावना विकास गराउने र शिक्षा तथा सिर्जनात्मकतामा विद्यार्थीहरूको सहभागिता बढाउने उद्देश्य राखेको आयोजकले जनाएका छन् ।
कार्यक्रममा नेपाल भारत मैत्री संघका मधेश प्रदेश अध्यक्ष लभ राजा सिंहको अध्यक्षता, लाेसपाकाे राष्ट्रिय अध्यक्ष तथा संघीय सांसद महन्थ ठाकुरकाे प्रमुख अतिथि, विशिष्ट अथितिमा मधेस प्रदेशका शिक्षा तथा संस्कृत मन्त्री मा. रानी कुमारी तिवारी, प्रदेश सांसद जैनुल राइन, भारतीय राजदुतावास बिरगंजका काउनसलर डिएस मिना, जलेश्वर नगरपालिकाका मेयर सुरेश साह साेनार, प्रमुख जिल्ला अधिकारी रिसाल लगायत विभिन्न राजनीतिक दलका नेताहरू, स्थानीय बुद्धिजीवी, शिक्षक तथा समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो ।

