गाैशाला, साउन २ गते ।
महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित श्री राम माध्यमिक तथा प्राविधिक विद्यालयमा अध्ययनरत कक्षा ११ का २७ जना प्राविधिक धारका विद्यार्थीहरूलाई ल्यापटप वितरण गरिएको छ ।
शैक्षिक सत्र २०८१ मा प्राविधिक शिक्षामा नामांकन भएका विद्यार्थीहरूलाई प्रविधिमैत्री बनाउँदै डिजिटल शिक्षासँग जोड्ने उद्देश्यले उक्त ल्यापटप वितरण गरिएको हो।
कार्यक्रममा महोत्तरी–३ बाट निर्वाचित प्रतिनिधिसभा सांसद तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी, र मटिहानी नगर प्रमुख हरि प्रसाद मण्डलले संयुक्त रूपमा ल्यापटप वितरण गर्नुभयो।
नगरपालिकाको योजना अनुरूप जोरकोष बजेटबाट dell कम्पनीका 13th Generation का Intel i5 ल्यापटप वितरण गरिएको हो।
छात्र असजद राजाले ल्यापटप पाएपछि खुसी व्यक्त गर्दै भने, “अब अनलाइन कक्षा सजिलै गर्न सकिन्छ, कोडिङ अभ्यासमा पनि सजिलो हुनेछ।” अर्की छात्रा काजल ठाकुरले पनि “पढाइमा सहयोग पुग्ने” बताउँदै खुशी व्यक्त गरिन्।
मन्त्री शरद सिंह भण्डारीले विज्ञान र प्रविधिको युगमा प्रविधिसँग जोडिएको शिक्षा देशको भविष्य निर्माणको मेरुदण्ड भएको बताउनुभयो। प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक शिक्षातर्फ प्रेरित गर्ने बताउँदै विद्यालय र नगरपालिकाको सहकार्यमा अझ प्रभावकारी योजना अघि ल्याउने प्रतिवद्धता जनाउनुभयो।
नगर प्रमुख मण्डलले उक्त ल्यापटप वितरण कार्यक्रम प्राविधिक शिक्षालाई डिजिटल युगसँग जोड्ने कोसेढुङ्गा भएको उल्लेख गर्नुभयो।
सांसद महन्थ ठाकुरले युवाहरूलाई प्राविधिक शिक्षामा जोड्नु नेपालको विकासको लागि अनिवार्य भएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीमा नयाँ सोच र उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, प्रदेश सभा सदस्य जैनुल राइन, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, प्रहरी उपरीक्षक हेरम्ब शर्मा, अनुसन्धान निर्देशक चन्दन झा, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, विभिन्न वडाका अध्यक्षहरू, शैक्षिक संस्थाका प्रतिनिधिहरू, पत्रकार, उद्योगी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले मटिहानी नगरपालिकाको प्रविधिप्रति देखिएको प्रतिबद्धता र शिक्षामा लगानीलाई प्रतिबिम्बित गरेको छ।

