जनकपुरधाम, साउन ४ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका-५ निवासी ३० वर्षीय पत्रकार रविन्द्र प्रजापति शनिबार साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। परिवारले तत्काल उनलाई उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकहरूले मृत घोषणा गरेका छन् ।
प्रजापति गरुडा म्युजिकल एफएममा कार्यरत थिए, जहाँ उनी समाचार लेखन तथा वाचनमा संलग्न थिए। केही दिनअघि उनले कटहरिया नगरपालिकाको खानेपानी समस्या सम्बन्धी समाचार प्रकाशित गरेका थिए। सोही समाचारपछि उनलाई मेयर अजयप्रकाश जयसवालले फोनमार्फत गालीगलौज र धम्की दिएका थिए भन्ने आरोप परिवार र स्थानीय पत्रकारहरूको छ।
प्रेस चौतारी नेपाल रौतहट शाखाले जेष्ठ २९ गते विज्ञप्ति जारी गर्दै पत्रकार प्रजापतिलाई दिइएको धम्कीप्रति गम्भीर आपत्ति जनाउँदै प्रशासनलाई छानबिन र कारबाहीको माग गरेको थियो।
प्रजापतिका नजिकका व्यक्तिहरूका अनुसार, धम्कीपछिका दिनहरूमा उनी गहिरो तनावमा थिए र घरबाट बाहिर निस्कन समेत छाडेका थिए। यसै कारण उनी मानसिक रूपमा असहज अवस्थामा पुगेको र त्यसले आत्महत्या गर्न बाध्य बनाएको हुनसक्ने स्थानीयको भनाइ छ।
ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। “मेयरले धम्की दिएको हो भन्ने पुष्टि भएको छैन, अनुसन्धानपछि तथ्य खुल्नेछ,” उनले बताए ।
हाल प्रजापतिको शव पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ ।

