राजेश सिंह
गाैशाला, साउन ४ गते ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले आफ्ना पूर्व अध्यक्ष रामचन्द्र सिंह कुशवाहाप्रति निजी निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरेको छ। महासंघकी अध्यक्ष ओम देवी मल्लको नेतृत्वमा एक टोली महोत्तरीको गौशाला नगरपालिका–१२, प्ररियास्थित दिवंगत कुशवाहाको निवासमा पुगेर परिवारसँग भेटघाट गरेको हो।
अध्यक्ष मल्लसँगै महासंघकी सदस्य शारदा देवीलगायत पदाधिकारीहरूको उपस्थिति रहेको कार्यक्रममा स्व. कुशवाहाको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। सो अवसरमा अध्यक्ष मल्लले कुशवाहाको योगदानको उच्च मूल्याङ्कन गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिन्।

वि.सं. २०१५ कात्तिक २२ गते जन्मनुभएका रामचन्द्र सिंह कुशवाहाको २०८२ असार ३१ गते ६७ वर्षको उमेरमा निधन भएको थियो। उहाँ राष्ट्रिय सहकारी आन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै महासंघको अध्यक्षको रूपमा समेत योगदान पुर्याएका थिए।
महासंघको तर्फबाट जारी गरिएको श्रद्धाञ्जली सन्देशमा भनिएको छ,
“उहाँको असामयिक निधनले सहकारी क्षेत्रले एक दूरदर्शी, इमानदार र कर्मठ नेतृत्व गुमाएको छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनलाई धैर्य तथा शक्ति मिलोस् भन्ने कामना गर्दछौं।”
🕯 दिवंगत कुशवाहाको योगदानलाई सम्मान गर्दै सहकारी महासंघले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।



