मटिहानी, साउन ५ गते ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ स्थित पौराणिक धार्मिकस्थल श्री लक्ष्मी सागरमा श्री लक्ष्मीनारायण भगवानको पाँचौं वार्षिक संध्या आरती तथा विशेष महाआरती कार्यक्रम सोमबार भव्यरूपमा सम्पन्न भएको छ।
श्री लक्ष्मी सागर तथा आरती व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशसभा सदस्य राम अशिष यादव, मटिहानी नगर प्रमुख हरि प्रसाद मंडल र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
साप्ताहिक संध्या आरती २०७८ साल साउन ५ गतेदेखि प्रत्येक बिहीबार नियमित रूपमा आयोजना हुँदै आएको हो। पाँच वर्ष पुगेको अवसरमा विशेष महाआरती तथा सांस्कृतिक कार्यक्रमसहितको वार्षिकोत्सव मनाइएको हो।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेशसभा सदस्य यादवले लक्ष्मी आरतीलाई मटिहानी नगरको समृद्धि, विकास र प्रगतिसँग जोडिएको आध्यात्मिक मन्त्रको रूपमा व्याख्या गरे। उनले आरती पोखरीमा गर्नु जल संरक्षणको अभ्यास पनि भएको बताए।
नगर प्रमुख मंडलले मटिहानीको लक्ष्मीनारायण मठ र सागरलाई रामायणकालीन इतिहाससँग जोडेर चर्चा गर्दै यो धार्मिक स्थल अन्तर्राष्ट्रिय रूपमा पनि परिचित बन्दै गएको धारणा राखे। उनले देशभर वर्षाका लागि प्रार्थना गर्दै पानीको संकट समाधान होस् भन्ने कामना गरे।
प्रमुख जिल्ला अधिकारी रिसालले यस आरती कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धन गरी मटिहानीको आर्थिक र सांस्कृतिक पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा समिति अध्यक्ष बरुण मंडलको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रदेश सरकारका उप–सचिव उपेन्द्र न्यौपाने, नेपाल प्रहरी महोत्तरीका प्रहरी प्रमुख हेरम्ब शर्मा, सशस्त्र प्रहरी गण नं. ९ का प्रमुख शेरबहादुर अधिकारी, मठका मान महन्थ जगरनाथ दास बैष्णव, उत्तराधिकारी महन्थ रबिन्द्र दास बैष्णव, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।









