पवन प्रसाद साह
बिरगंज, साउन ७ गते ।
नेपाल प्रहरीको ट्राफिक सेवामा अनुशासन, इमानदारी र नेतृत्व क्षमताको प्रतीक बनेका वीरगंज ट्राफिक प्रहरी कार्यालयका निरीक्षक लोकराज भट्ट ‘पोलिस अफ द मन्थ’ घोषित भएका छन्।
नेपाल प्रहरी अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरीका रूपमा भट्टलाई छनोट गरेको हो। विभागीय आदेश, निर्देश तथा मूल्य–मान्यतालाई आत्मसात गर्दै भट्टले ट्राफिक व्यवस्था सुधार, जनचेतना अभिवृद्धि र राजस्व संकलनमा उल्लेखनीय सफलता हासिल गरेका छन्।
राजस्व संकलनमा अग्रणी
हालै सम्पन्न आर्थिक वर्षको समीक्षामा मधेश प्रदेशका आठ ट्राफिक कार्यालयमध्ये वीरगंजले सर्वाधिक राजस्व संकलन गर्न सफल भएको छ। यो उपलब्धि निरीक्षक भट्टको नेतृत्वमा रहेको टोलीको समन्वय, लगनशीलता र व्यावसायिक कार्यशैलीको परिणाम मानिएको छ।
ट्राफिक मात्रै होइन, जनचेतनामा पनि सक्रिय
‘ट्राफिक नियम पालना गरौँ, सुरक्षित यात्रा गरौँ’ भन्ने नारालाई व्यवहारमा उतार्दै, भट्टको संयोजनमा कार्यालयले थुप्रै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो। कार्यसम्पादन सम्झौतामा तय गरिएका लक्ष्यहरू हासिल गर्नमा वीरगंज ट्राफिक कार्यालय प्रदेशमै अगाडि रह्यो।
ट्राफिक महाशाखा, पथलैयाका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाल भन्छन्, “निरीक्षक लोकराज भट्टको समर्पण, कार्यकुशलता र सेवामूलक सोचको उच्च कदर गर्दै उहाँलाई असार महिनाको ‘पोलिस अफ द मन्थ’ घोषणा गरिएको हो।”
यो सम्मानले वीरगंज ट्राफिक प्रहरी टोलीको मेहनत, प्रतिबद्धता र नागरिकमैत्री सेवाको स्पष्ट सन्देश दिएको छ।

