महोत्तरी, साउन ७ गते।
FCA को सहयोग र मटिहानी नगरपालिकाको समन्वयमा रतौली युवा क्लबद्वारा सञ्चालित ‘आगलागी प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापना परियोजना’ अन्तर्गत आज विभिन्न क्रियाकलापहरूको अनुगमन गरिएको छ।
अनुगमन कार्यक्रममा मटिहानी नगरपालिकाका नगरप्रमुख श्री हरि प्रसाद मण्डल, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वडा नं. ६ का अध्यक्ष कलिम अन्सारी, वडा सचिवहरू, विभिन्न शाखा प्रमुखहरू तथा रतौली युवा क्लबका पदाधिकारी एवं कर्मचारीहरूको उपस्थिति रहेको थियो।
अनुगमन टोलीले परियोजनाबाट सञ्चालित कृषि फार्म, प्राङ्गारिक मल उत्पादन, दुना–टपरी उद्योग, पशुपालन, खाजा पसललगायत उद्यमहरूको अवलोकन गरेको थियो। सोही अवसरमा नगरप्रमुख मण्डलले दुनाटपरी उद्योगको समुद्घाटन समेत गर्नुभएको थियो।
परियोजनामार्फत आगलागीबाट प्रभावित परिवारहरूको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले विभिन्न स्वरोजगारमुखी व्यवसाय सञ्चालनका लागि सहयोग गरिएको कार्यक्रम संयोजक कृष्णबहादुर भुलले जानकारी दिनुभयो।
उनका अनुसार पहिलो चरणमा ५४ परिवारलाई तरकारी तथा फलफुल पसल, किराना पसल, नास्ता पसल, सिलाइकटाइ, पशुपालन तथा तरकारी खेती जस्ता व्यवसायका लागि प्रति परिवार रु ५५,००० बराबरको सामग्री तथा सहयोग प्रदान गरिएको छ। दोस्रो चरणमा ती व्यवसायहरू विस्तार गर्न २५ जनालाई थप रु ५०,००० बराबरको नगद तथा सामाग्री सहयोग गरिएको हो।
यसबाहेक १५ परिवारलाई जग्गा लिजमा लिएर व्यावसायिक तरकारी खेती गराइएको छ भने अन्य १५ परिवारका सदस्यलाई लाहाचुरा उत्पादन, ब्युटीपार्लर, बाइक मर्मत तथा ड्राइभिङजस्ता प्राविधिक तथा व्यावसायिक सीपसम्बन्धी तालिम दिइएको छ।
बालबालिकाहरूका लागि ६ महिनासम्मको कोचिङ कक्षा सञ्चालन गरिएको छ भने ६० जनालाई शैक्षिक सामग्रीहरू पनि वितरण गरिएको छ।
अनुगमनपश्चात वडा नं. ६ को कार्यालयमा आयोजना गरिएको समिक्षा बैठकमा सहभागीहरूले परियोजनाको प्रभाव र आगामी चरणका गतिविधिबारे छलफल गरेका थिए।
































