राजेश सिंह
महोत्तरी, साउन ९ गते।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार महोत्तरीको मटिहानी नगरपालिकामा दुईवटा पूर्वाधार संरचनाको एकै साथ उद्घाटन गर्नुभएको छ। उहाँले मटिहानी–८ मा निर्माण सम्पन्न भएको बिघी नदी पुल र मटिहानी–६ मा बनाइएको पाँच शैयाको प्रसूतिगृह भवनको औपचारिक रूपमा उद्घाटन गर्नुभयो।

प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत मटिहानी आइपुगेपछि सिधै जलसागर पुगेर बिघी पुलमा शिलालेख अनावरण र रिबन काटेर उद्घाटन गर्नुभएको थियो। ५० मिटर लामो र ११.८५ मिटर चौडाइ भएको यो RCC T-Girder प्रकारको पुल कालिका कन्स्ट्रक्सन प्रा. लि. भरतपुर, चितवनले निर्माण गरेको हो। दुई स्पान (प्रत्येक २५ मिटर) रहेको पुल निर्माणमा ७ करोड ५७ लाख ८० हजार रुपैयाँभन्दा बढी खर्च भएको छ।

यसअघि बिघीमा रहेको पुरानो पुल साँघुरो र कमजोर भएकोले जनताले आवतजावतमा कठिनाइ भोग्दै आएका थिए। नयाँ पुलको निर्माणले मटिहानीलाई जनकपुर र सीमावर्ती भारतसँग जोड्ने महत्वपूर्ण पहुँचमार्ग थप खुला भएको छ।
त्यसपछि प्रधानमन्त्री ओलीले मटिहानी–६ स्थित पाँच शैयाको प्रसूतिगृह भवन पनि उद्घाटन गर्नुभयो। करिब १ करोड ८८ हजार रुपैयाँ लागतमा बनेको सो भवनमा अपरेशन कक्ष, डेलिभरी रुम, एनआईसीयू, फार्मेसी, ओपीडी, नर्सिङ कोठा, शौचालय लगायतका आवश्यक स्वास्थ्य सेवा सुविधा समेटिएको छ।
नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार, ५० शैयाको अस्पताल बनाउने बजेट अभाव रहेकाले ५ शैयाको प्रसूतिगृहबाट मातृ–शिशु स्वास्थ्यमा राहत पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा सांसद तथा लोसपा अध्यक्ष महन्थ ठाकुर, श्रममन्त्री शरतसिंह भण्डारी, प्रदेश प्रमुख सावित्री भण्डारी, मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधार मन्त्री सरोज यादव, शिक्षा मन्त्री रानी शर्मा तिवारीलगायतको उपस्थिति रहेको थियो।
प्रधानमन्त्रीको आगमनलाई लिएर मटिहानीमा उत्सवजस्तै माहोल देखिएको थियो। स्थानीय प्रशासन र सुरक्षा निकायले कार्यक्रमस्थलमा व्यापक सुरक्षा व्यवस्था मिलाएको थियो।

