काठमाण्डौ, साउन ११ गते ।
इन्सेकका संस्थापक महासचिव तथा मानव अधिकारका अथक योद्धा स्व. प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको ‘प्रकाश मानव अधिकार पुरस्कार’ यस वर्ष चुरे तथा वन-जंगल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने भएको छ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिअनुसार सार्वजनिकरूपमा आह्वान गरिएका ४० नाममध्येबाट वातावरणीय अधिकारको क्षेत्रमा सम्झौतारहित संघर्ष गर्दै आएका यादवलाई छनोट गरिएको हो।

पुरस्कार छनोट समिति इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठन गरिएको थियो। समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा. सूर्यप्रसाद ढुङ्गेल र अधिकारकर्मी गङ्गा कसजु सदस्य थिए।
बाराको सिम्रौनगढ नगरपालिका–२, मौवाही निवासी यादव २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारको विषयमा निरन्तर सक्रिय रहँदै आएका छन्। चुरे क्षेत्रको दोहनले मधेश प्रदेशमा पारेको जलवायु तथा वातावरणीय असरबारे सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउँदै उनी विभिन्न सचेतनामूलक कार्यक्रम, जनचेतना अभियान र नीति तहमा पैरवी गर्दै आइरहेका छन्।
उनीलाई सम्मानस्वरूप आउँदो साउन १६ गते काठमाडौंमा हुने ३३ औँ प्रकाश स्मृति दिवसको अवसरमा नगद ५० हजार रुपैयाँ, सम्मानपत्र, र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिनेछ।

