काठमाडौं, साउन ११ गते ।
थारू विद्यार्थी समाज केन्द्रिय समितिले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने थारू विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मान गरेको छ । शनिबार ललितपुरस्थित नाईटिंगेल कलेजमा आयोजित एक समारोहमा ३.२ जिपिए वा सोभन्दा बढी अंक प्राप्त गर्ने ८० भन्दा बढी विद्यार्थीहरूलाई दोसल्ला, अबिर र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
सम्मानित विद्यार्थीमध्ये कपिलवस्तुकी प्रिसिला थारू र सप्तरीकी तेजिना चौधरीले ४.० जिपिए ल्याएकोमा नगद पुरस्कारसहित विशेष सम्मान प्राप्त गरे। कैलालीकी अर्की विद्यार्थीलाई भने जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीमार्फत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा विशिष्ट अतिथिहरूले विद्यार्थीहरूलाई शुभकामना दिँदै दोसल्ला ओढाइ सम्मान गरे। कार्यक्रममा थारू समुदायका दर्जनौं संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समारोहको समापन गर्दै थारू विद्यार्थी समाजका अध्यक्ष विमल चौधरीले यस प्रकारका सम्मान कार्यक्रमले समुदायको शैक्षिक जागरणमा सकारात्मक प्रभाव पारिरहेको बताए। साथै, उनले कार्यक्रममा साथ र सहयोग गर्ने सम्पूर्ण संघसंस्था, व्यक्तित्वहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे।
कार्यक्रममा थारू समुदायको कला, संस्कृति र गीत–संगीतमा योगदान दिने कलाकारहरूलाई पनि सम्मान गरिएको थियो। गायक तथा संगीतकार विवेक चौधरी, गायक विकास थारू, आर्या चौधरीलगायत कलाकारहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।













